सीता एयरलाइन्सद्वारा तीन विमानस्थलमा परीक्षण उडान

काठमाडौं । सीता एयरलाइन्सले १ नं. प्रदेशका तीनवटा विमानस्थलमा मंगलबार परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो ।

 

आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिए । उनका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ ।

 

परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा जहाज अवतरण भएको थियो । काठमाडौंबाट उडेको जहाज रुम्जाटार र त्यसपछि लामिडाँडा गएको थियो ।

 

लामिडाँडाबाट सिधै ताप्लेजुङ आउने प्रयास भए पनि मौसमका कारण विराटनगर अवतरण भई मौसम अनुकूलपछि त्यहाँबाट सुकेटार आएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले जानकारी दिए ।

 

पाथीभरा र हलेसीमा तीर्थयात्री ओसार्ने योजनाअनुसार परीक्षण भएको र यसको नेतृत्व १ नं प्रदेशको विराट होलिडे ग्रुपले गरेको जनाइएको छ ।

 

दुई महिनासम्म प्याकेजमा चलाउने र त्यसपछि नियमित उडान गर्ने उद्देश्य रहेको एयरलाइन्सले जनाएको छ ।यस अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा पाथीभरा दर्शनका लागि तीर्थयात्री लैजाने बताइएको छ ।

होर्डिङ बोर्ड हटाउन महानगरले दियो ७ दिनको अल्टिमेटम Read Previous

होर्डिङ बोर्ड हटाउन महानगरले दियो ७ दिनको अल्टिमेटम

जनवरी अन्तिमदेखि ग्वाङ्जाओ उडान गर्ने निगमको तयारी Read Next

जनवरी अन्तिमदेखि ग्वाङ्जाओ उडान गर्ने निगमको तयारी