काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले माघ १६ गतेदेखि लागू हुने गरी व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अब व्यक्तिगत मुद्दतीमा ८.५ प्रतिशत र संस्थागतमा ६.७५ प्रतिशत ब्याज पाउने छन् ।
बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.५ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । यसअघि बैंकले व्यक्तिगत मुद्दतीमा ९ प्रतिशत र संस्थागतमा ७.२५ प्रतिशत ब्याजदर दिँदै आएको थियो ।
निफ्रामा मुद्दतीमा पैसा राख्दा कम्तीमा ५ वर्ष अवधिका लागि राख्नुपर्नेछ । व्यक्तिगततर्फ न्यूनतम १ करोड र संस्थागतमा कम्तीमा ५ करोड रुपैयाँभन्दा कम निक्षेपमा राख्न नपाइने बैंकले जनाएको छ । निफ्राले अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तो छोटो समय र थोरै रकम निक्षेपको रुपमा राख्दैन ।
यस्तै, बैंकले कर्जाको ब्याजदर पनि १ प्रतिशत विन्दुले घटाएको छ । बैंकले प्रोजेक्ट लोनको ब्याजदर ११ देखि १३ प्रतिशत तोकेको छ । यसअघि अधिकतम १४ प्रतिशतसम्म थियो ।
ब्रिज ग्याप लोनको ब्याजदर भने प्रोजेक्टो लोनकोभन्दा ०.५ प्रतिशत अर्थात् ११.५ देखि १४.५ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ ।