
काठमाडौं । नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्ने भएको छ । यसकालागि कम्पनीले सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग नयाँ साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्सका तर्फबाट प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले सम्झाैतामा हस्ताक्षर गरेका हुन् ।
सम्झाैता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देशकै एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यो योजना १ जुलाई २०१९ बाट प्रारम्भ हुनेछ । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो याेजना ल्याएकाे हो ।
यसको शुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुनेछन् जस्तै उनीहरुले वारेन्टी दावी गर्न सक्नेछन्, ओसार-पसार छिटो हुनुका साथै त्यस क्रममा हुने टुटफुटको जोखिम समेत परिपूर्ति हुनेछ । साथै हिम इलेक्ट्रोनिक्सले मध्यपूर्व देशहरुमा टिभी किन्दा लाग्ने रकममै सामसङ्ग टिभी प्रदान गर्नेछ ।
यसका लागि मध्यपूर्व देशहरुमा बस्ने प्रवासीहरुले सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टिभी छनौट गर्ने, काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र बिक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउन छन् । त्यसपश्चात, यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलेक्ट्रोनिक्सको विक्रेताबाट टिभी घर लग्न सक्नेछन् ।