काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद प्रयोजनार्थ भोलि (माघ १५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
अरुण भ्यालीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले हकप्रदबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माण गर्न स्वपूँजीबापत पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने जनाएको छ ।
त्यसैगरी, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा लिएको बैंकको ऋण तिर्ने जनाएको छ ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले गर्नेछ ।