घरजग्गा कारोबारमा ९९.९७% अनौपचारिक अर्थतन्त्र, बैंकिङ क्षेत्रमा नगन्य

काठमाडौं । देशको अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अध्ययन अनुसार सन् २०२०/२१ मा नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत देखाएको हो ।

अर्थशास्त्र विभागले मुद्रा माग विधि र राष्ट्रिय लेखा विधिबाट अध्ययन गरेको हो । जसअनुसार मुद्रा माग विधिको आधारमा अनौपचारिक अर्थतन्त्र ४१.३१ प्रतिशत र राष्ट्रिय लेखा विधिको आधारमा ३८.६० प्रतिशत रहेको छ ।

अध्ययन अनुसार देशको अर्थतन्त्रको औपचारिक आकार आधाभन्दा केही बढी अर्थात् ५८.६९ प्रतिशत मात्र रहेको हो । यद्यपि, पछिल्ला वर्षहरूमा अनौपचारिक अर्थतन्त्रको आकार घट्दै गएको अध्ययनले देखाएको छ । विभागका अनुसार सन् २०१८र१९ मा अनौपचारिक अर्थतन्त्रको आकार ४५.०२ प्रतिशत थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७५ मा गरेको आर्थिक गणनाले अनौपचारिक अर्थतन्त्रको आकार ४९.९ प्रतिशत रहेको देखाएको थियो । १० वर्षको तथ्यांक अनुसार औसतमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ४०.६० प्रतिशत रहेको छ ।

विभागले १८ वटा क्षेत्रलाई आधार मानेर अर्थतन्त्रको अनौपचारिक आकारको अध्ययन गरेको हो । जसमा सबैभन्दा ठूलो हिस्सा घरजग्गा कारोबारको रहेको छ । अध्ययन अनुसार घरजग्गा सम्बन्धी कारोबारको ०.०३ प्रतिशत मात्रै औपचारिक अर्थतन्त्रको माध्यमबाट हुने गरेको पाइएको छ । अर्थात् ९९.९७ प्रतिशत घरजग्गा सम्बन्धी कारोबार अनौपचारिक अर्थतन्त्रको माध्यमबाट हुने गरेको छ ।

नेपालमा घरजग्गा खरिद गर्दा सम्पत्तिको स्रोत लुकाउनुलाई सामान्य मानिन्छ । त्यसैले यसलाई अनौपचारिक क्षेत्रमा गणना गरिएको हो । अध्यन अनुसार जग्गा कारोबार वा सम्पत्ति अवमूल्यन गरी ठूलो मात्रमा कर छली भइरहेको छ । त्यस्तै, भाडा तथा लिजमा दिइएको घरजग्गामा पनि अवमूल्यन गरी कर छली हुने गरेको छ ।

अध्ययन अनुसार अनौपचारिक अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा पनि उच्च रहेको छ । कृषि, वन तथा माछा मार्ने, आवास तथा खाद्य सेवा र मनोरञ्जन क्षेत्रमा पनि अनौपचारिक अर्थतन्त्रको हिस्सा धेरै देखिएको छ । कृषि वन तथा माछा मार्ने क्षेत्रमा ९६.४८, आवास तथा खाद्यमा ५०.४२ र मनोरञ्जन क्षेत्रमा ३३.६९ प्रतिशत बराबरको अनौपचारिक अर्थतन्त्र देखिएको छ ।

त्यसैगरी, व्यापारमा १४.८७, विद्युत् तथा ग्यास १४.९९, निर्माण १६.२६, उद्योग १६.३६, कला मनोरञ्जन ३३.६९ प्रतिशत अनौपचारिक देखिएको छ ।

अध्ययन अनुसार पानी तथा सरसफाइ २.१४, पेशागत क्रियाकलाप ३.१० खानी तथा उत्खनन ४.९६, प्रशासनिक सहयोगी क्रियाकलाप ८.६६ प्रतिशत, वित्त र बीमामा ०.११, सूचना तथा सञ्चारमा ०.१३, शिक्षामा ०.१९, स्वास्थ्य र सामाजिक कार्यमा ०.३३, यातायात तथा गोदाममा ०.६३ प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको रहेको छ ।

अध्ययन अनुसार सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको अर्थतन्त्र सबै औपचारिक देखिएको छ। अर्थात् यी क्षेत्रमा अनौपचारिक अर्थतन्त्र देखिएको छैन।

सिटिजन लाइफको नाफामा सुधार, सेयर प्रिमियममा डेढ अर्ब बढी संचित Read Previous

सिटिजन लाइफको नाफामा सुधार, सेयर प्रिमियममा डेढ अर्ब बढी संचित

नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिकलाई १८ लाखको चेकिङ बोर्ड Read Next

नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिकलाई १८ लाखको चेकिङ बोर्ड