काठमाडौं । देशको अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अध्ययन अनुसार सन् २०२०/२१ मा नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत देखाएको हो ।
अर्थशास्त्र विभागले मुद्रा माग विधि र राष्ट्रिय लेखा विधिबाट अध्ययन गरेको हो । जसअनुसार मुद्रा माग विधिको आधारमा अनौपचारिक अर्थतन्त्र ४१.३१ प्रतिशत र राष्ट्रिय लेखा विधिको आधारमा ३८.६० प्रतिशत रहेको छ ।
अध्ययन अनुसार देशको अर्थतन्त्रको औपचारिक आकार आधाभन्दा केही बढी अर्थात् ५८.६९ प्रतिशत मात्र रहेको हो । यद्यपि, पछिल्ला वर्षहरूमा अनौपचारिक अर्थतन्त्रको आकार घट्दै गएको अध्ययनले देखाएको छ । विभागका अनुसार सन् २०१८र१९ मा अनौपचारिक अर्थतन्त्रको आकार ४५.०२ प्रतिशत थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले २०७५ मा गरेको आर्थिक गणनाले अनौपचारिक अर्थतन्त्रको आकार ४९.९ प्रतिशत रहेको देखाएको थियो । १० वर्षको तथ्यांक अनुसार औसतमा अनौपचारिक अर्थतन्त्रको हिस्सा ४०.६० प्रतिशत रहेको छ ।
विभागले १८ वटा क्षेत्रलाई आधार मानेर अर्थतन्त्रको अनौपचारिक आकारको अध्ययन गरेको हो । जसमा सबैभन्दा ठूलो हिस्सा घरजग्गा कारोबारको रहेको छ । अध्ययन अनुसार घरजग्गा सम्बन्धी कारोबारको ०.०३ प्रतिशत मात्रै औपचारिक अर्थतन्त्रको माध्यमबाट हुने गरेको पाइएको छ । अर्थात् ९९.९७ प्रतिशत घरजग्गा सम्बन्धी कारोबार अनौपचारिक अर्थतन्त्रको माध्यमबाट हुने गरेको छ ।
नेपालमा घरजग्गा खरिद गर्दा सम्पत्तिको स्रोत लुकाउनुलाई सामान्य मानिन्छ । त्यसैले यसलाई अनौपचारिक क्षेत्रमा गणना गरिएको हो । अध्यन अनुसार जग्गा कारोबार वा सम्पत्ति अवमूल्यन गरी ठूलो मात्रमा कर छली भइरहेको छ । त्यस्तै, भाडा तथा लिजमा दिइएको घरजग्गामा पनि अवमूल्यन गरी कर छली हुने गरेको छ ।
अध्ययन अनुसार अनौपचारिक अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा पनि उच्च रहेको छ । कृषि, वन तथा माछा मार्ने, आवास तथा खाद्य सेवा र मनोरञ्जन क्षेत्रमा पनि अनौपचारिक अर्थतन्त्रको हिस्सा धेरै देखिएको छ । कृषि वन तथा माछा मार्ने क्षेत्रमा ९६.४८, आवास तथा खाद्यमा ५०.४२ र मनोरञ्जन क्षेत्रमा ३३.६९ प्रतिशत बराबरको अनौपचारिक अर्थतन्त्र देखिएको छ ।
त्यसैगरी, व्यापारमा १४.८७, विद्युत् तथा ग्यास १४.९९, निर्माण १६.२६, उद्योग १६.३६, कला मनोरञ्जन ३३.६९ प्रतिशत अनौपचारिक देखिएको छ ।
अध्ययन अनुसार पानी तथा सरसफाइ २.१४, पेशागत क्रियाकलाप ३.१० खानी तथा उत्खनन ४.९६, प्रशासनिक सहयोगी क्रियाकलाप ८.६६ प्रतिशत, वित्त र बीमामा ०.११, सूचना तथा सञ्चारमा ०.१३, शिक्षामा ०.१९, स्वास्थ्य र सामाजिक कार्यमा ०.३३, यातायात तथा गोदाममा ०.६३ प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको रहेको छ ।
अध्ययन अनुसार सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको अर्थतन्त्र सबै औपचारिक देखिएको छ। अर्थात् यी क्षेत्रमा अनौपचारिक अर्थतन्त्र देखिएको छैन।