काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रका व्यापारीहरू सटर बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा ‘नो पार्किङ’ लागू गरेसँगै व्यापारीहरू आन्दोलित भएका हुन् ।
पार्किङ हटाउँदा व्यापार व्यवसाय चौपट हुने भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् । उनीहरूले वडा कार्यालय पुगेर महानगरको सो निर्णय सच्याउन समेत आग्रह गरेका छन् ।
न्युरोड क्षेत्रलाई सुन्दर र सवारी आवागमनमा सहज बनाउन भन्दै महानगरले आजदेखि सकडमा पार्किङ निषेध गरेको हो । उक्त ठाउँको पार्किङको विकल्पमा महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङको समेत व्यवस्था गरेको छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।
उनले विकल्पमा काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे र ७०० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।