नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण गर्न समस्या

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन ।निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो ।

 

धादिङको धुनिबेँशी नगरपालिकामा झण्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

 

उनका अनुसार सुरुङमार्ग निर्माणस्थलमा जग्गाको पूर्जा भएका व्यक्ति मुआब्जा लिइरहेका छन् भने पूर्जा नभएको जग्गामा समस्या देखिएको छ ।

 

झण्डै २० व्यक्तिले आफ्नो जग्गा भनी दाबी गरेपनि उनीहरुसँग प्रमाण नभएको उनले बताए । उनले भने, “जग्गाको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर हामी नियमित छलफलमा छौँ ।”

 

जग्गाको अधिग्रहण गर्न बाँकी रहेका बाहेक सुरुङमार्ग निर्माणमा अरु किसिमको अवरोध नभएको प्रमुख थापाले बताए । निर्माणका लागि तोकिएको अवधि ४२ महिनामा जग्गा खाली गराउनेदेखि निर्माण सम्पन्न भइसक्ने उनको दाबी छ । त्यससँगै बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्न बाँकी रहेको बताइएको छ ।

 

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको गत चार कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका थिए । झण्डै डेढ दशक पहिले कल्पना गरिएको भए पनि आर्थिक व्यवस्थापनलगायतका कारणले सुरुङमार्ग निर्माणको योजना बन्न सकेको थिएन ।

 

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक र प्राविधिक सहयोग गर्ने भएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो । गत महिना सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको थियो ।रासस

एनएमबी बन्यो टभ राइल्यान्डबाट आइएसओ पाउने नेपालको पहिलो बैंक Read Previous

एनएमबी बन्यो टभ राइल्यान्डबाट आइएसओ पाउने नेपालको पहिलो बैंक

दश वर्षमा ७ हजार २२६ किमि सडक विस्तार गर्ने सरकारको योजना Read Next

दश वर्षमा ७ हजार २२६ किमि सडक विस्तार गर्ने सरकारको योजना