काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीको पनि महँगो मूल्यमा सेयर कारेबार हुने गरेको छ । आइपीओ जारी नगरेका रियल सेक्टरका केही कम्पनीको ओभर दी काउन्टर (ओटीसी) मार्केटमा महँगो मूल्यमा सेयर किनबेच हुने गरेको हो ।
ओटीसी मार्केटमा नेप्सेमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्तहरू पूरा गर्न नसकेका पब्लिक कम्पनीहरूको सेयर कारोबार गर्न सकिने व्यवस्था छ ।
ओटीसी मार्केटमा अधिकांश कम्पनीको सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै कारोबार हुने गरेको छ भने केही कम्पनीको महँगोका कारोबार हुने गरेको छ ।
ओटीसी मार्केटमा दोस्रो बजारमाभन्दा महँगो मूल्यमा सेयर कारोबार भएका रेकर्ड छन् । नेप्सेमा विगतमा एनसेलको सेयर प्रतिकित्ता १ लाख रुपैयाँ माथि कारोबार भएको थियो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा दुई कम्पनीको सेयर प्रतिकित्ता १ हजार रुपैयाँ माथि किनबेच भएको छ । चालु वर्षको पहिलो त्रैमासमा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँ कारोबार भएको थियो ।
दोस्रो त्रैमासमा काठमाडौं फरेष्ट्री कलेजको सेयर प्रतिकित्ता १ हजार ८५.५ रुपैयाँ दरले किनबेच भएको छ । नेप्सेका अनुसार फरेष्ट्री कलेजको ५०० कित्ता सेयर ५ लाख ४२ हजार ७५० रुपैयाँँमा किनबेच भएको हो ।
ओटीसी मार्केटमा दोस्रो बजारमा जस्तो धेरै ग्राहक बीच मोलमोलाइ हुँदैन । पहिल्य नै किन्ने र बेच्ने बीच मूल्य निर्धारण गरी करोबार हुने गरेको छ ।
नेप्सेका अनुसार चालु वर्षको दोस्रो त्रैमासमा ओटीसी मार्केटमा २२ कम्पनीको सेयर कारोबार भएको छ । ती कम्पनीहरूको कुल ६३ करोड ६५ लाख ७ हजार ३२८ रुपैयाँ बराबरको ५९ लाख ६७ हजार २२० कित्ता सेयर खरिदबिक्री भएको हो ।
दोस्रो त्रैमासमा आइपीओ ल्याउने प्रक्रियामा रहेको बन्दीपुर केबलकारको सेयर प्रतिकित्ता १५० रुपैयाँमा करोबार भएको छ । त्यस्तै, डियरवाल्क ग्रुपको प्रतिकित्ता २५० रुपैयाँ, सेन सीड सर्भिसको प्रतिकित्ता २४० र २४५ रुपैयाँ, त्रिशक्ति सेक्युरिटिजको प्रतिकित्ता १२० रुपैयाँ, मेडिकेयर हस्पिटलको प्रतिकित्ता १५८.२ रुपैयाँमा कारोबार भएको छ । अन्य अधिकांश कम्पनीको प्रतिकित्ता १०० रुपैयाँमै कारोबार भएको छ ।
चालु वर्षको पहिलो त्रैमासमा ओटीसी मार्केटमा २३ कम्पनीको १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त मूल्यमा कुल १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर किनबेच भएको थियो ।
