काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको बोलपत्र आज खोलिने भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार तामाकोशीको लिलामी बोलपत्र आज बिहान ९:३० बजे लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरीमा खोलिने भएको हो ।
कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको थियो । जसमा करिब ३० हजार जनाले आवेदन दिएका छन् ।
कोषका अनुसार लिलामी आवेदनबाट बैंक खातामा मात्रै ७ अर्ब रुपैयाँ जम्मा भएको छ । यो गुड फर पेमेन्ट चेकबाहेकको रकम हो । गुड फर पेमेन्ट समेतको रकम जोड्दा यो अझै बढ्ने कोषले जनाएको छ ।
सबै बोलपत्र खोली सकेपछि लिलामीको कट अफ मूल्य तय गरिने छ । कट अफ मूल्यभन्दा बढीमा आवेदन दिनेले सेयर पाउने छन् भने कममा आवेदन हाल्नेले पाउँदैनन् ।
कम्पनीले कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् कुल १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये संस्थापकतर्फको सबै बिकेको थियो भने साधरणतर्फ ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित हकप्रद लिलामीमा ल्याएकाे हाे ।