काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम तीव्र बनेको छ । आर्थिक संकुचनका कारण उल्लेख्य रूपमा कर्जाको माग नबढ्दा र रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि हुँदा निक्षेप ह्वात्तै बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामै बैंक तथा वित्तीय संस्थाहरूमा करिब १ खर्ब निक्षेप थपिएको छ । गत मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल ६० खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा पुस मसान्त आइपुग्दा बढेर ६१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । यो नेपाली बैंकिङ इतिहासममा हालसम्मकै धेरै हो ।
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकारभन्दा पनि ठूलो भएको छ । बैंकमा रहेको निक्षेप जीडीपीको ११३.५१ प्रतिशत पुगेकाे छ । पछिल्लो तथ्यांक अनुसार मुलुकको जीडीपी ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ।
कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्रै ५४ खर्ब ९ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थासँग ६ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ ।
समग्रमा चालु वर्षमा कर्जा लगानी सुस्त रहे पनि पुसमा भने बैंक तथा वित्तीय संस्थाले आक्रमक रूपमा लगानी बढाएका छन् । चालु आवको ५ महिनामा सवा खर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले पुस महिनामा मात्रै ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब ९५ अर्ब रुपैयाँ रहेकोमा पुस मसान्त आइपुग्दा ५० खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ४४ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ ।
यद्यपि, पुसमा नयाँ कर्जा उल्लेख्य रूपमा लगानी नभई पुरानो ऋण नवीकरण तथा पुनर्संरचना भएकाले कर्जा लगानी ह्वात्तै बढेको हो ।
निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । हाल समग्रमा सीडी रेसियो ८०.१४ प्रतिशत रहेको छ भने राष्ट्र बैंकले ९० प्रतिशतको सीमा तोकेको छ । यस आधारमा अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग साढे ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) रहेको छ ।
राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत अर्थात् ५ खर्ब ६० अर्ब बढी कर्जा विस्तारको लक्ष्य राखे पनि सो हासिल नहुने देखिएको छ । चालु आवको ६ महिनामा लक्ष्यको एकचौथाई अर्थात् २७ प्रतिशत मात्रै कर्जा लगानी भएको छ । यद्यपि, पछिल्लो समय ब्याजदर घट्दो क्रममा रहेको र अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले आगामी दिनमा कर्जाको माग बढ्ने बैंकरहरू बताउँछन् ।
राष्ट्र बैंकले मंसिरमा मौद्रिक नीति समीक्षामार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो । त्यसको प्रभाव स्वरुप बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याज घटाइरहेका छन् । निक्षेपको ब्याज घटेसँगै बैंकको लागत घट्न गई कर्जाको ब्याज समेत घट्छ ।
राष्ट्र बैंकले कर्जा लगानीमा समेत लचकता अपनाएको छ । रियल इस्टेट, व्यक्तिगत आवास कर्जा, सेयर धितो कर्जा, हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ । यसले कर्जाको माग बढाउने अपेक्षा छ । बैंकहरूले पनि कर्जा लगानी बढाउन विभिन्न खालका स्कीमहरू ल्याउन थालेका छन् ।