काठमाडौं । भारतले समुन्द्र माथि २२ किलोमिटर लामो पुल बनाएको छ । मुम्बईलाई नयाँ मुम्बईसँग जोड्ने भारतकै सबैभन्दा लामो पुल गत साता प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् ।
कुल २२ किलोमिटर लामो ६ लेनको यो पुलको १६.५ किलोमिटर खण्ड समुन्द्र माथि र ५.५ किलोमिटर जमिन माथि बनेको छ । ‘अटल सेतु’ नाम दिइएको उक्त पुल विश्वको १२ औं लामो पुल बनेको छ ।
सन् २०१८ देखि निर्माण थालिएको यो पुल १७ हजार ८४० करोड भारतीय रुपैयाँमा निर्माण गरिएको हो । सो पुलको शिलान्यास भने सन् २०१६ मा प्रधानमन्त्री मोदीले नै गरेका थिए ।
यो पुल निर्माण भएसँगै अब मुम्बईबाट जम्मा २० मिनेटमा नयाँ मुम्बई पुग्न सकिने छ । यस अघि सो एक सहरबाट अर्को सहर जान २ घण्टा लाग्दथ्यो ।
उक्त पुलबाट दैनिक ७० हजार सवारीसाधनले आवतजावत गर्ने अनुमान गरिएको छ । पुलमा चारपाँग्रे सवारीसाधनको गति १०० किमी तोकिएको छ । मोटरसाइकल, अटोरिक्सा र ट्रयाक्टरलाई भने समुद्री पुल प्रयोग गर्न रोक लगाइएको छ ।