काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ ।
चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएकोे छ । कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रु ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो ।
६ महिनामा कर राजश्वतर्फ ३३.९८ प्रतिशत अर्थात् रु ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् रु ५२ अर्ब ९४ करोड ७८ लाख बराबर असुली भएको छ ।
चालु आवका लागि कुल रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् रु २ अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।
चालु आवका लागि कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा रु ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो ।
चालुगत शीर्षकमा कुल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत अर्थात् रु ४ खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो ।
त्यसैगरी, पूँजीगत खर्च शीर्षकमा रु ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बराबर छुट्याइएकामा १६.३ प्रतिशत अर्थात् रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् रु ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ ।