अन्तरप्रदेश हवाइ उडानको इन्धनमा सहुलियत दिइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताएका छन् ।

 

नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा सोमबारआयोजित विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौँको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिए ।

 

मन्त्री भट्टराईले विराटनगर विमानस्थलको एक हजार ५०० मिटरवाट दुई हजार ५०० मिटर धावनमार्गको विस्तार गर्ने कार्य सन् २०२५ भन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा शुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उनले आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा हुने गरी काठमाडौँसँग प्रदेशको सम्पर्क उडान गर्ने नीति सरकारको छ भने ।

 

मन्त्री भट्टराईले विराटनगर तथा चन्द्रगढी विमानस्थलबाट बङ्गलादेशको शहीदपुर उडान चाँडै शुरु गर्ने सोचका साथ सरकारले आवश्यक गहृकार्य गरिरहेको उल्लेख गर्दै ठूलो जनसङ्ख्यामा रहेको भारतीय पर्यटकलाई ध्यानमा राखेर यहाँबाट दिल्ली र कोलकत्ता उडान गर्नुपर्नेमा जोड दिए।

 

उनले निजी क्षेत्रको सहकार्यमा विमानस्थलको सञ्चालन गर्ने नीति सरकारको छ भन्दै उद्यमीको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने हुनाले ढुक्कसाथ लगानी गर्न आह्वान गरे ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थलको विस्तार कार्य गुरु योजना अनुरुप भइरहेको बताउँदै यस क्षेत्रमा भू-उपग्रह आधारित भएर उडान हुने जानकारी दिए ।

 

प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले विमानस्थलको सन् २०४० सम्मको गुरुयोजना प्रस्तुत गर्दै ११ अर्व लगानीमा विमानस्थलको हाल रहेको १२० विघा क्षेत्रफलमा ८३ बिघा जग्गा अधिग्रहण गरेमा २४ वर्षपछि व्यस्त समयमा प्रतिघण्टा एक हजार २०० हवाई यात्रुलाई सेवादिन सकिने जानकारी दिए ।

 

उनले विमानस्थल विस्तारवाट सन् २०४० मा प्रतिवर्ष नौ लाख ५० हजार स्वदेशी तथा दुई लाख २५ हजार बाह्य पर्यटकलाई सेवा उपलब्ध गराउन सकिने धारणा प्रस्तुत गरे ।

 

विराटनगर विमानस्थलको हाल एक हजार ५०० मिटर धावन मार्ग रहेको छ ।

भद्रकुमारी घलेलाई भारती खरेल स्मृति पुरस्कार Read Previous

भद्रकुमारी घलेलाई भारती खरेल स्मृति पुरस्कार

बुढीगण्डकी प्रभावितको मुआब्जा निर्धारण, कुन ठाउँको कति Read Next

बुढीगण्डकी प्रभावितको मुआब्जा निर्धारण, कुन ठाउँको कति