काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स दोस्रो बजारमा कारोबारमा आएको चार दिनमै सेयर बजारको १३ औं ठूलो कम्पनी बनेको छ ।
सोमबारदेखि कारोबारमा आएको हिमालयन रि बजार पूँजीकरणका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये १३ औं ठूलो कम्पनी बनेको हो ।
नेप्सेका अनुसार बिहीबारको सेयर मूल्यका आधारमा हिमालयन रिको कुल बजार पूँजीकरण ४५ अर्ब २६ करोड रुपैयाँ रहेको छ । संस्थापक र साधरण गरी कुल १० करोड कित्ता सेयर सूचीकृत छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४५२.६० रुपैयाँ छ ।
कारोबारमा आएकाे दिनदेखि कम्पनीको सेयर मूल्यमा हरेक दिन पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै आएको छ । प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ३ दिनमै प्रतिकित्ता १४३.४ रुपैयाँ बढेर ४५२.६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा हाल २४९ वटा कम्पनी (म्युचुअल फण्ड र डिबेन्चर बाहेक) सूचीकृत छन् । हिमालयन रि अन्य समूहमा सूचीकृत छ ।
नेप्सेमा सूचीकृतमध्ये बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । यसको बजार पूँजीकरण १ खर्ब ६० अर्ब रुपैयाँ छ ।
नबिल बैंक १ खर्ब ३३ अर्बसहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । त्यसैगरी, पूँजीकरणका आधारमा नागरिक लगानी कोष १ खर्ब १६ अर्ब, नेपाल पुनर्बीमा ८४ अर्ब र एनआइसी एशिया ७६ अर्बसहित क्रमशः शीर्ष ५ ठूला कम्पनीका रुपमा छन् ।