काठमाडौं । यस वर्ष (सन् २०२४)मा पनि विश्व अर्थतन्त्र सुस्त रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ सार्वजनिक गर्दै सन् २०२४ मा पनि विश्व अर्थतन्त्रको वृद्धिदर गत वर्षकै हाराहारी हुने प्रक्षेपण गरेको हो ।
विश्व बैंकका अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशतमै सीमित हुनेछ । गत वर्ष (सन् २०२३)मा विश्वको आर्थिक वृद्धिदर औसतमा २.६ प्रतिशत रहेको थियो ।
कोरोना महामारीपछि सुस्त रहेको विश्व अर्थतन्त्रमा सुधार आउन अझै २ वर्ष लाग्ने विश्व बैंकले जनाएको छ । आगामी वर्ष विश्व अर्थतन्त्रमा झिनो सुधार देखिए पनि फड्को नमार्ने विश्व बैंकको प्रक्षेपण छ ।
सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धिदर औसतमा २.७ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारले विश्वव्यापी मन्दीको जोखिम कम भए पनि खतरा भने नटरेको विश्व बैंकको भनाइ छ । बढ्दो भू–राजनीतिक तनावले विश्व अर्थतन्त्रमा खतराहरु सृजना गर्नसक्नेछ ।
ठूला अर्थतन्त्र भएका देशको सुस् वृद्धिले समग्र विश्व अर्थतन्त्रको वृद्धि प्रभावित हुने छ । विश्वकै ठूलो अमेरिकी अर्थतन्त्र यसवर्ष १.६ प्रतिशतले विस्तारले मात्रै बढ्ने छ भने आगामी वर्ष १.७ प्रतिशत वृद्धि हुने अनुमान छ ।
त्यसैगरी, चीनको अर्थतन्त्र यो वर्ष ४.५ प्रतिशतले विस्तार भएकोमा आगामी वर्ष ४.३ प्रतिशतले बढ्ने देखिएको छ । जापानी अर्थतन्त्र यस वर्ष ०.९ प्रतिशतले वृद्धि भएकोमा आगामी वर्ष ०.८ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरिएको छ । रुसको अर्थतन्त्र यस वर्ष १.३ प्रतिशत र आगामी वर्ष ०.९ प्रतिशतले मात्र बढ्ने छ ।
विश्वको औसत वृद्धिदर भन्दा नेपालको राम्रो
सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर विश्व्को औसतभन्दा साम्रो हुने विश्व बैंकको प्रक्षेपण छ । यस वर्ष (आव २०८०/८१) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । यो विश्वको औसतभन्दा झन्डै डेढ प्रतिशत बढी हो ।
गत वर्ष सन् २०२३ (आव २०७९/८०)मा नेपालकको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा मात्रै सीमित भएको थियो । आगामी आर्थिक वर्षमा भने नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार आउने अनुमान गरिएको छ । सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एशियामा नेपालको आर्थिक वृद्धिदर पाँचौ स्थानमा रहेको छ ।
चीन खुम्चिँदै, भारत लम्किँदै
विश्वव्यापी मन्दीका बीच भारतको आर्थिक वृद्धि उच्च रहेको विश्व बैंकले जनाएको छ । मन्दीका बीच भारतले लगातार ३ वर्षसम्म ६ प्रतिशत माथिको आर्थिक वृद्धि हासिल गर्ने अनुमान छ । गत वर्ष ६.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको भारतले यो वर्ष पनि ६.४ प्रतिशतको वृद्धि गर्ने अनुमान छ । यस्तै, आगामी वर्ष सन् २०२५ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण छ ।
हाल विश्वकै दोस्रो ठूलो चीनको अर्थतन्त्र भने झन् ओरालो लागेको छ । गत वर्ष ५.२ प्रतिशतको आर्थिक वृद्धि गरेको चीनले चालु वर्ष ४.५ र आगामी वर्ष ४.३ प्रतिशतमा खम्चने विश्व बैंकको प्रक्षेपण छ ।
दक्षिण एशियामा बंगलादेशले लय समात्दै
दक्षिण एशियामा भने भारतसँगै बंगलादेशको अर्थतन्त्रले पनि लय समातेको देखिएको छ । गत वर्ष ६ प्रतिशतको वृद्धि हासिल गरेको बंगलादेशले यो वर्ष ५.६ प्रतिशत र आगामी वर्ष ५.८ प्रतिशतले अर्थतन्त्र विस्तार हुनेछ ।
यस्तै, माल्दिभ्सले यस वर्ष ५.२ प्रतिशत र आगामी वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, भुटानले यस वर्ष ४ प्रतिशत र आगामी वर्ष ४.६ प्रतिशतको वृद्धिदर समात्ने छ ।
दक्षिण एशियाका अन्य मुलुकको आर्थिक वृद्धिदर विश्वको औसतभन्दा माथि रहे पनि श्रीलंका र पाकिस्तानको भने न्यून रहेको छ । यस वर्ष यी दुवै मुलुकले १.७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने छन् भने आगामी वर्ष समान २.४ प्रतिशतको वृद्धि हुने प्रक्षेपण छ ।