सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो, कम्तीमा ५० कित्ता भर्नुपर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले स्थानीयका लागि ३६०.९० रुपैयाँ दरले ९ लाख ३० हजार कित्ता सेयर जारी गर्ने भएको हो । सो सेयरमा उद्योग प्रभावित क्षेत्र नवरपारासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाले आवेदन दिन पाउने छन् ।

त्यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २ लाख ६७ हजार कित्ता साधारण निष्काशन गरेको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा माघ १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र माघ २५ गतेसम्म आवेदन दिन पाउने छन् ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका नवलपरासीका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

हिमालय बन्यो 'आयोसा सर्टिफिकेट' पाउने पहिलो नेपाली एयरलाइन्स कम्पनी Read Previous

हिमालय बन्यो 'आयोसा सर्टिफिकेट' पाउने पहिलो नेपाली एयरलाइन्स कम्पनी

एनआइसी एशिया बैंकले फेरि घटायो ब्याजदर, अधिकतम ८ प्रतिशतसम्म दिने Read Next

एनआइसी एशिया बैंकले फेरि घटायो ब्याजदर, अधिकतम ८ प्रतिशतसम्म दिने