काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर र रिडी पावर कम्पनीलाई हकप्रद बिक्रीको अनुमति दिएको हो ।
अरुण भ्यालीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले हकप्रदबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण र ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ काबेली बी १ क्यासकेड जलविद्युत आयोजना को ऋण तिर्न प्रयाेग गरिने जनाएको छ ।
हाल १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको अरूणाको हकप्रदपछि ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।
त्यस्तै, रिडी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति पाएको हो ।
हाल १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।