अपर तामाकोशीको १.७० करोड कित्ता सेयर लिलामी खुल्यो, आइपीओकै भाउमा किन्ने अवसर !

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १ करोड ७० लाख बढी कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् कुल १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये संस्थापकतर्फको सबै बिकेको थियो भने साधरणतर्फ ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित हकप्रद अहिले लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीको लिलामी सेयरमा पुस २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यद्यपि, बढी मूल्य बोलकबोल गर्नेले लिलामीको सेयर पाउने भएकाले १०० रुपैयाँमा बोलपत्र हाल्दा सेयर पाउने निश्चित भने छैन । तर, पर्याप्त आवेदन नपरेमा अंकित मूल्यमै सेयर पाउने सम्भावना पनि हुन्छ ।

लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँबानेश्वर र सहबिक्री प्रबन्धक सनराइज क्यापिटलमा आवेदन दिन सक्नेछन् । साथै लक्ष्मी सनराइज बैंकको विराटनगर, धरान, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र चरिकोट शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

मुग्लिन-पोखरा सडक : पश्चिमखण्डमा पनि कालोपत्रको तयारी, पूर्वीमा १२.५ किमी सकियो Read Previous

मुग्लिन-पोखरा सडक : पश्चिमखण्डमा पनि कालोपत्रको तयारी, पूर्वीमा १२.५ किमी सकियो

म्याग्दीमा ८ महिनामा बने ६ वटा मोटरेबल पुल Read Next

म्याग्दीमा ८ महिनामा बने ६ वटा मोटरेबल पुल