काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड (तनहुँको जामुनेदेखि पोखरासम्म) पनि कालोपत्र गर्ने तयारी गरिएको छ । निकै सुस्त गतिमा काम भइरहेको यस खण्डमा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्ने तयारी थालिएको हो।
दुई खण्डमा विभाजन गरी विस्तार थालिएको यस सडकको पूर्वीखण्डको कामले गति लिए पनि पश्चिम खण्डको सुस्त छ । विस्तार थालिएको २ वर्षमा पश्चिम खण्डको जम्मा १४ प्रतिशत मात्रै प्रगति भएको छ । पछिल्लाे समय भने यस खण्डमा पनि कामको गतिले तीव्रता पाएको छ ।
पश्चिम खण्डमा कालोपत्र गर्न ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । सडक कालोपत्रका लागि करिब २ किलोमिटर बेसको काम सकिएको पौडेलले बताए । उनले भने, ‘पुसको अन्तिम वा माघको सुरूदेखि कालोपत्र हुनेछ । त्यही अनुसार अहिले काम भइरहेको ।’
उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ । सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु ७ अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।
पूर्वीखण्डको ४५ प्रतिशत काम सकियो
पूर्वी खण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वी खण्डमा १२.५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रुपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरू गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क -एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।