काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । दिनभरमा २५ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा झन्डै २ अंकले घटेर बन्द भएको हो । नेप्से लगातार घटेको आज चौथो दिन हो । ४ दिनमा नेप्से परिसूचक ७३ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९५ करोडले घटेर ४ अर्ब २९ करोड रूपैयाँमा सीमित भएको छ ।
बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा आइपुगेको छ । यस दिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको छ ।
आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् र घोराही सिमेन्टको समान १३/१३ करोड बढीको कारोबार भएको छ ।
घट्दो बजारमा पनि आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । भिजन लुम्बिनी ऊर्जाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, मनकामना इन्जिनियरिङ र तारागाउँ रिजेन्सी होटलका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।