नागढुंगा-नौबिसे सुरुङ खन्न अब ९८ मिटर मात्रै बाँकी, ११ वटा संरचना तयार

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । नेपालकै पहिलो नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरव आयोजना समेत रहेको यो सुरुङमार्गको सुरुङ खन्ने काम ९८.२० प्रतिशत सम्पन्न भएको हो ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार (पुस ११ गतेसम्म) कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २५८९.४० मिटर खनिसकिएको छ । अब मुख्य सुरुङ ब्रेक थ्रु हुन ९८.६० मिटर मात्र बाँकी रहेको आयोजनाका सहायक निर्देशक गोविन्द डुमरूले जानकारी दिए ।

आयोजनाको २५५७ मिटर लामो आपतकालीन सुरुङ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ गरिएको थियो । मुख्य सुरुङ पनि माघभित्रै ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ ।

कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित)मध्ये हालसम्म कुल ५ हजार ५४०० मिटर निर्माण सम्पन्न भएको डुम्रेले जानकारी दिए ।

अहिले सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि सँगसँगै भइरहेको उनले बताए । मुख्य सुरुङ फिनसिङको काम ५१.९० प्रतिशत सकिएको छ । हालसम्म १३९६ मिटर सुरुङ फिनसिङ गरिसकिएको छ ।

आयोजनाको हालसम्म समग्रमा ६७.६१ प्रतिशत भौतिक प्रगति र ६२.४९ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।

११ वटा संरचना निर्माण पूरा

नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । हालसम्म फ्लाइओभरको ५ वटा फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा हालसम्म ३ वटा सम्पन्न भइसकेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।

४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो ।सुरु सम्झौता अनुसार सुरुङमार्गको काम २०८० वैशाखामा सम्पन्न हुनुपर्थ्यो । सो समयमा नसकिएपछि कोभिडिको कारण ढिलाइ भएकोभन्दा ३ महिना (२०८० साउन ४ गतेसम्म) थप गरिएको थियो । यस अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक २०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।

नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ । धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

यूरोपको सट्टा चीन र भारत तेल निर्यात गर्दै रुस, ९८ अर्ब डलर आम्दानी गर्ने Read Previous

यूरोपको सट्टा चीन र भारत तेल निर्यात गर्दै रुस, ९८ अर्ब डलर आम्दानी गर्ने

नेप्सेमा झिनो अंकको गिरावट, यी ७ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा झिनो अंकको गिरावट, यी ७ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट