किलोको ३०० रुपैयाँसम्म पाउने भएपछि सुन्तला खेती मासेर एभोकाडो लगाउँदै किसान

इलाम। इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मेहनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।

माइजोगमाई गाउँपालिका-५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन्।‘३ वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, २ वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्,’ उनले भने।

जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गरेका छन्। धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको उक्त गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको उनी बताउँछन्।

‘सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती सुरु गरेका छौँ, एउटै बोटबाट एक क्‍विन्टलसम्म उत्पादन हुन्छ,’ उनले भने, ‘एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्याङ्क छ।’

यहाँका अधिकांश किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन्। करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिए।उनी भन्छन्, ‘कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ।’

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका देवान सामाजिक तथा राजनीतिक भूमिकाका अलवा कृषि कर्ममा समेत रमाउने गरेका छन्।‘हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ,’ उनले भने।

जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ। गत वर्ष ४१९.२२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष ४२२.५ मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए।

गतवर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६०.५ हेक्टर जमिनमा खेती गरिएको उनले बताए। उनका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ।

‘गत वर्ष प्रतिहेक्टर ७.६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर ७.३ मेट्रिक टन मात्र रहेको छ,’ उनले भने।नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माइजोगमाईका खत्रीले बताए। सो फलबाट किसानले मनग्ये आयआर्जनसमेत गर्न थालेको स्वयं किसानको भनाइ छ।

एक दशक मलेसिया बसेर स्वदेश फर्किएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताए।

एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन्। सुरुमा ३०० रुपैयाँ प्रति किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ। इलाम बजारमा हाल २०० रुपैयाँ प्रति किलोमा यसको बिक्री भइरहेको छ।‘व्यापारीको दःख छैन, बगानमै आउँछन् र मुस्टमा दामकाम गरेर पनि किन्छन्,’ देवानले भने।

हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा, सुनसरी काठमाडौंलगायतका स्थानमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताए। बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो।

दिउँसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस याममा मुख्य उत्पादन लिन सकिन्छ। दीर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ।

सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको हो। कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन्। यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ।

दानाबाट यसको उत्पादन लिन सकिन्छ। रुखमा फल्ने यसको फल सामान्यतया २ सय ग्रामदेखि एक किलोसम्मको हुने गर्दछ। भित्र दानो बीचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ।

त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषक यस खेतीमा तानिएको रोङ गाउँपालिका-५ जिर्मलेका किसान प्रेम राईले बताए। एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ। एक रोपनीमा करिब ६ वटासम्म एभोकाडो रोप्न सकिने माइजोगमाईका किसान खत्रीको भनाइ छ।

कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिने इलामका किसान एवं राजनीतिज्ञ देवानले बताए। ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेको होटल व्यवसायी नवीना कार्कीले बताइन्।

यसमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ। विज्ञका अनुसार एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ। यसमा ६ ग्राम चिल्लो, ३/४ ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुने गरेको छ।

एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ।

साथै बिटाक्यारोटिन र ओमेगा-३ चिल्लो एसिड पनि यसमा पाइन्छ। एभोकाडो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ।

जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्‍न ठाउँमा प्रवर्धन गर्नका साथै प्रचारप्रसार गर्न र किसानलाई हौसला प्रदान गर्न कृषि ज्ञान केन्द्रले समन्वय र सहयोग गर्दै आएको छ। बिरुवा रोपेको ३ वर्षदेखि नै उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषक यसतर्फ आकर्षित भएको ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए। एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ।

समुद्री सतहबाट २ हजार ५ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ। बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन थालेका छन्।

४ नगरपालिका र ६ गाउँपालिका भएको इलामका सबै स्थानीय तहमा एभोकाडोको आंशिक खेती हुन सुरु भएको ज्ञान केन्द्रले जनाएको छ। रासस

५ महिनामा पौने ५ अर्ब रकमान्तर, बहुवर्षीय ठेक्काका लागि साढे ७ अर्ब सुनिश्चित Read Previous

५ महिनामा पौने ५ अर्ब रकमान्तर, बहुवर्षीय ठेक्काका लागि साढे ७ अर्ब सुनिश्चित

ठेक्का अलपत्र पार्ने विदेशीसहित चार निर्माण कम्पनी कालोसूचीमा Read Next

ठेक्का अलपत्र पार्ने विदेशीसहित चार निर्माण कम्पनी कालोसूचीमा