काठमाडौं । नेपालमा आयात हुने ८३ प्रतिशत विदेशी वस्तु ५ वटा भन्सार नाकाबाट भित्रिने गरेका छन् । हाल २९ वटा भन्सार नाकाबाट वैदेशिक व्यापार हुने भए पनि ५ नाकाबाटै तीनचौथाई बढी सामान भित्रिने गरेको हो ।
भन्सार विभागका अनुसार चालु आवको ५ महिना (साउन–कात्तिक)सम्म कुल ६ खर्ब ४२ अर्बको वस्तु आयात भएको छ । सोमध्ये वीरगञ्ज, भैरहवा, ड्राइपोर्ट, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट मात्रै ५ खर्ब ३१ अर्बको सामान भित्रिएको हो । यो कुल आयातको ८२.७७ प्रतिशत हो ।
भारतीय बन्दरगाहबाट नजिक र सहज सडक पूर्वाधारका कारण यी नाकाबाट धेरै वैदेशिक व्यापार हुने गरेको हो । त्यस्तै, तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलबाट मात्रै नियमित उडान हुने भएकाले व्यापार पनि यहीबाँटै धेरै हुने गरेको हो ।
वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै व्यापार हुने गरेको विभागको तथ्यांक छ । यस नाकाबाट कुल आयातमा एकतिहाई अर्थात् ३३.८७ प्रतिशत हिस्सा रहेको छ । मंसिरसम्म यस नाकाबाट २ खर्ब १७ अर्बको आयात भएको छ ।
त्यस्तै, भैरहवाबाट कुल आयातको १५.३७, सुख्खा बन्दरगाहबाट १३.८२, विराटनगरबाट १०.७४ र त्रिभुवन विमानस्थलबाट ८.९५ प्रतिशत आयात भएको विभागको तथ्यांक छ । अन्य २४ भन्सार नाकाबाट कुल आयातको १७.३३ प्रतिशत आयात भएको विभागले जनाएको छ । जसमा त्रिवेनी नाकाबाट ५ महिनामा सबैभन्दा कम ४० हजार रुपैयाँको सामान आयात भएको छ ।
१३ भन्सारबाट निर्यात शून्य
चालु आवको ५ महिनामा १३ वटा भन्सार नाकाबाट निर्यात शून्य रहको छ । यस अवधिमा २९ वटै नाकाबाट सामान आयात भए पनि १६ वटा भन्सार कार्यालयबाट मात्रै निर्यात भएको छ ।
विभागका अनुसार सुनसरी, जनकपुर, सुथैली, चोभार, भद्रपुर, पोखरा विमानस्थल, राजविराज, सती, महेशपुर, सिराहा, गौतमबुद्ध विमानस्थल र त्रिवेणी नाकाबाट एक रुपैयाँको पनि सामान निर्यात भएको छैन ।
सरकारी बेवास्ता, आवश्यक पूर्वाधारको अभाव र छिमेकी देशको असहयोगका कारण यी भन्सारबाट निर्यात हुन नसकेको हो । २९ वटै भन्सारबाट वस्तु आयात हुने भए पनि केही नाकामा निर्यातका लागि आवश्यक व्यवस्था मिलाइएको छैन ।
समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सबैभन्दा धेरै वस्तु निर्यात भएको छ । मंसिरसम्म कुल ६३ अर्बको सामान निर्यात भएकोमा विमानस्थलबाट मात्रै १५ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । यो कुल निर्यातको एकचौथाई अर्थात् २४.८४ प्रतिशत हो । यस नाकाबाट गलैँचा, कार्पेट, छुर्पी लगायत वस्तु धेरै बाहिरिएको छ ।
त्यस्तै, दोस्रोमा विराटनगर भन्सारबाट १२ अर्ब ८८ करोडको सामान बाहिरिएको छ । यो कुल निर्यातको २०.३८ प्रतिशत हो । यस नाकाबाट अलैँची, चिया, अम्रिसो, अदुवा, प्लाइवुड लगायत वस्तु विदेशिएको छ ।
त्यस्तै, वीरगञ्ज भन्सारबाट १९.६३ प्रतिशत वस्तु बाहिरिएको छ । यस नाकाबाट सिमेन्ट तथा क्लिंकर, फलामे पाता लगातयत वस्तु धेरै निर्यात भएको छ ।
नेपालले भद्रपुर, भैरहवा, विराटनगर, वीरगञ्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, त्रिवेणी, टाँडी, त्रिभुवन, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।