सर्वसाधरणलाई सेयर बेच्न सर्वोत्तम सिमेन्टले पायो अनुमति, आइपीओ भर्न कम्तीमा १८ हजार चाहिने

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुकबिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डलेले कम्पनीलाई दोस्रो चरणमा सर्वसाधरणलाई सेयर बेच्न सोमबार अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले ३६ लाख कित्ता सेयर बिक्रीको अनुमति पाएको हो । सर्वोत्तम नेपाली सेयर बजार इतिहासमा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने पहिलो कम्पनी हो ।

कम्पनीले यसअघि पहिलो चरणमा बुकबिल्डिङ विधिबाट संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले संस्थागत लगानीकर्ताक लागि प्रतिकित्ता ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँसम्म आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा ४०१ रुपैयाँ कटअफ मूल्य निर्धारण भएको थियो । सोही मूल्यको १० प्रतिशत छुटमा सर्वसाधरणमा सेयर जारी गर्ने भएको हो ।

आइपीओ भर्न कम्तीमा १८ हजार चाहिने

सर्वोत्तम सिमेन्टको आइपीओ भर्न कम्तीमा १८ हजार रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट बिक्रीमा ल्याइएको आइपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । सो अनुसार ५० कित्ता भर्नका लागि १८ हजार ४५ रुपैयाँ चाहिने भएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लोबल आइएमई क्यापिटल लिमिटेड, सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीको सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँदछ ।

कम्पनीद्धारा संचालित सिमेन्ट उद्योग नवलपरासीको सुनवल नगरपालिका-११, जोडेनीमा रहेको छ । सो उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। उद्योगको प्रतिदिन उत्पादन क्षमता ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

एकैपटक ५२ ठाउँको घरजग्गा बेच्दै नबिल बैंक (सूचीसहित) Read Previous

एकैपटक ५२ ठाउँको घरजग्गा बेच्दै नबिल बैंक (सूचीसहित)

सप्तकोशीमा श्रीलंका टापु जोड्ने ५ किमी लामो झोलुङ्गे पुल बन्ने Read Next

सप्तकोशीमा श्रीलंका टापु जोड्ने ५ किमी लामो झोलुङ्गे पुल बन्ने