मंसिरमा २५ अर्बले बढ्यो आयात, निर्यात भने ६ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरमा विदेशी वस्तुको आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिरमा कात्तिककोभन्दा २५ अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको हो ।

विभागका अनुसार मंसिरमा कुल १ खर्ब ३० अर्ब रुपैयाँको विदेशी वस्तु आयात भएको छ । जबिक कात्तिकमा चालु वर्षकै कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

यद्यपि, मंसिरमा पनि समग्रमा आयत बढेको नभई कात्तिकको तुलनामा मात्रै बढेको हो । यो महिना पनि आयात औसतमा अन्य महिना सरह नै रहेको छ । कात्तिकमा दशैं, तिहार लगायत चाडपर्वका कारण आयात घटेको थियो ।

चालु आवको ५ महिना (साउन–मंसिर)मा कुल ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको सामान आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशत कम हो । गत वर्ष मंसिरसम्म ६ खर्ब ६४ अर्बको वस्तु आयात भएको थियो ।

चालु वर्षमा मासिक औसतमा १ खर्ब २८ अर्ब रुपैयाँको सामान आयात भएको छ । जसमा असोजमा सबैभन्दा धेरै १ खर्ब ४८ अर्ब, भदौ १ खर्ब ३० अर्ब र साउनमा १ खर्ब २९ अर्बको सामान आयात भएको थियो ।

सरकारले आयात प्रतिबन्ध हटाए पनि आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा आयातमा गिरावट आएको हो । साथै, माग संकुचनका कारण उद्योगहरु न्यून क्षमतामा संचालन भएकाले कच्चा पद्धार्थको आयात घट्दा समग्र आयात घटेको हो ।

निर्यात ६ प्रतिशले घट्यो

समीक्षा अवधिमा निर्यातमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको ५ महिनामा नेपालबाट हुने निर्यात ६.०९ प्रतिशतले घटेको छ ।

विभागका अनुसार चालु आवको मंसिरसम्म कुल ६३ अर्ब २० करोडको सामान विदेशिएको छ । यो गत वर्षकोभन्दा ४ अर्ब कम हो । गत वर्ष ५ महिनामा ६७ अर्ब ३० करोडको वस्तु नेपालबाट विदेशिएको थियो । यस वर्ष मासिक औसतमा साढे १२ अर्ब रुपैयाँको निर्यात भएकाे छ ।

व्यापार घाटामा सुधार

गत वर्षको तुलनामा आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा ३.०९ प्रतिशतले घटेको छ । गत वर्ष मंसिरसम्म ५ खर्ब ९७ अर्ब व्यापार घाटा रहेकोमा चालु वर्षको सोही अवधिमा ५ खर्ब ७९ अर्बमा सीमित भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा १८ अर्बले घटेको हो ।

आयात प्रतिबन्ध हटाए पनि माग नहुँदा आयात घटेको हो । विदेशी मुद्रा संचिति घट्दै गएको भन्दै सरकार र राष्ट्र बैंकले अघिल्लो वर्ष विदेशी वस्तु आयातमा कडाइ गरेको थियो । विदेशी मुद्रा संचितिमा सुधार आएसँगै सरकारले २०७९ माघदेखि विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाएको थियो ।

चालु आवको ५ महिनामा कुल ७ खर्ब ५ अर्बको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा ३.६४ प्रतिशत कम हो । गत वर्ष मंसिरसम्म ७ खर्ब ३२ अर्बको वैदेशिक व्यापार भएको थियो ।

नेपाल बैंकर्स संघको कार्य समितिमा ५ नयाँ सदस्य चयन Read Previous

नेपाल बैंकर्स संघको कार्य समितिमा ५ नयाँ सदस्य चयन

अनुदानको बीउले झुक्यायो किसानलाई, नउम्रिएपछि ११० बिघा खेत बाँझै Read Next

अनुदानको बीउले झुक्यायो किसानलाई, नउम्रिएपछि ११० बिघा खेत बाँझै