वीरगञ्ज । बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लालाई पठाइसकिएको छ ।
‘गहुँबाली छर्ने बेलामा किसानलाई डीएपी मल चाहिने हो,’ उनले भने, ‘हामीले प्राप्त भएको डीएपी मल जिल्लाजिल्लामा कोटाअनुसार पठाइसकेका छौँ । गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा अर्थात् तीन सातापछि युरिया मल चाहिने हो, त्यो केही दिनभित्रै आइपुग्छ ।’
करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको उनले जानकारी दिए । ‘करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ,’ प्रमुख पाण्डेयले ने, ‘युरिया मल यही डिसेम्बर २६ तारिकसम्ममा भारतको कोलकता आइपुग्ने र त्यसको केही दिनभित्रै वीरगञ्ज आइपुग्छ भन्ने हामीलाई सूचना प्राप्त भएको छ ।’ त्यो मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या नहुने उनको भनाइ छ । तर आउन लागेको भनिएको युरिया मल समयमा नआए पुनः रासायनिक मलको हाहाकार हुन सक्छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक बर्ष २०८०/८१ को पाँच महिनामा युरिया १५ हजार आठ सय ९४ मेट्रिक टन, डीएपी १९ हजार २१३ मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ ।
पुरानो आल्या र चालु आर्थिक वर्ष २०८०/८१ मा प्राप्त मलमध्ये हालसम्म डीएपी १६ हजार २३ मेट्रिक टन, युरिया १९ हजार २९९ मेट्रिक टन र पोटास एक हजार ५९९ मेट्रिक टन मल जिल्लाजिल्लामा पठाइएको प्रमुख पाण्डेयले बताए । हाल युरिया १५१ मेट्रिक टन, डिएपी तीन हजार ८६७ मेट्रिक टन र पोटास ५७ मेट्रिक टन गोदाम मौज्दात रहेको उनको कथन छ ।
अबको एक महिनाभित्रमा डीएपी २५ हजार मेट्रिक टन मल आउने निश्चित भएको प्रमुख पाण्डेयले जानकारी दिए । रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएलगत्तै मलखाद्य बाँडफाँड भएअनुसार जिल्लाजिल्लामा मल पठाउँदै आएको उनले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा आएको युरिया ५५ हजार २९७ मेट्रिक टन, डीएपी ३० हजार ७६१ मेट्रिक टन मलमध्ये युरिया ४४ हजार ४८८ मेट्रिक टन, डीएपी २६ हजार ६०६ र पोटास एक हजार ७३१ मेट्रिक टन रासायनिक मल जिल्लाजिल्लामा वितरण गरेको छ ।
सो अवधिमा पर्सा जिल्लामा मात्र युरिया चार हजार ७७० मेट्रिक टन, डीएपी दुई हजार ९४३ मेट्रिक टन र पोटास चार सय चार मेट्रिक टन मल बिक्री गरिएको प्रमुख पाण्डेयको भनाइ छ ।
मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उनले बताए ।
सो कार्यालयमार्फत मधेस प्रदेशको आठवटै जिल्ला, बागमती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लम्जुङ, गोरखा, कास्की, पर्वतलगायत जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डीएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या हुने गरेको किसानको गुनासो छ ।