काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सुस्त गतिमा अघि बढेको छ । ४ वर्षमा सम्पन्न गर्ने गरी २०७४ जेठदेखि निर्माण सुरू गरिएको फास्ट ट्रयाक ६ वर्ष बित्दा करिब एकतिहाई काम पूरा हुन लागेकाे छ ।
रुख कटान, ठेक्का प्रक्रियामा ढिलाइ, कोरोना महामारी, ठेकेदारको ढिलासुस्ती, सरकारको हेलचेक्र्याइँ लगायत कारणले आयोजनाले गति लिन नसकेको हो ।
नेपाली सेनाको जिम्मामा निर्माण भइरहेको फास्ट ट्रयाकको हालसम्म २८.५६ प्रतिशत भौतिक प्रगति भएको छ । करिब २ खर्ब १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको हालसम्म वित्तीय प्रगति २९.४४ प्रतिशत छ । हालसम्म आयोजनामा करिब ५२ अर्ब रुपैयाँ खर्च भइसकेको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जानकारी दिए ।
आयोजनाको अझै ६७.३४ प्रतिशत काम बाँकी छ । आयोजनाको पहिला तोकिएको म्याद २०८१ मंसिरसम्म काम नसकिने भएपछि सरकारले २०८३ चैतसम्म थपेको छ । बाँकी काम निर्धारित समयमै पूरा हुने प्रधानसेनापति शर्माको दाबी छ ।
उनले नेपाली जनताले निकै आशा र भरोसा गरेको सामरिक महत्त्व बोकेको द्रुतमार्ग आगामी विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरी काम भइरहेको जानकारी दिए ।
प्रधानसेनापति शर्माले भने, ‘द्रुतमार्गको निर्माण नियम र कानुनको परिधिभित्र रही तयार गरिएको कार्ययोजनाअनुरुप नै पारदर्शी ढङ्गबाट काम भइरहेको छ । आर्थिक अनियमिता भएको छैन । झन्झटिला प्रक्रिया र कतिपय अव्यावहारिक कानुनले कामलाई द्रुत गतिमा अघि बढाउन बाधा पुर्याइरहेको छ ।’

द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत र वातावरण अध्ययन मूल्याङ्कनमा भएको बिलम्वजस्ता कार्यले समयमा कार्यसम्पादन गर्न बाधा पुगेको घटना सुनाउँदै उनले सरोकारवाला सबैको सहयोग र समन्वयनमा निर्धारित समयमै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
एक प्रश्नको जवाफमा प्रधानसेनापति शर्माले भने, ‘प्रजातान्त्रिक मुलुकको सेनाको प्रमुखको जिम्मेवारीमा छु । सेनालाई गलत देखाउने तत्त्वले अहिले पनि सक्रिय छ । सेनाले गलतलाई कहिल्यै ठीक भन्दैन । द्रुतमार्गकै कुरा गर्नुपर्दा अहिले करिब रु १२ अर्ब सस्तोमा काम लगाइएको छ ।’
विसं २०७४ वैशाख २१ गते सेनाले द्रुतमार्ग निर्माणको जिम्मेवारी लिएको थियो । सेनाको व्यवस्थापनमा अघि बढिरहेको द्रुतमार्गको लम्बाइ डीपीआरपछि ७०.९७७ किमी कायम भएको छ । उक्त राजमार्गमा विशिष्ट प्रकारकासहित ८९ वटा पुला रहने छन् भने दोहोरो प्रवेश भएका ६ वटा सुरूङमार्ग रहने छन् ।
आयोजनालाई निर्धारित समयसीमाभित्र पूरा गर्न सेनाले १३ भागमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाएकामा सात स्थानमा अहिले धमाधम काम भइरहेको छ भने ५ स्थानको ठेक्का प्रक्रिया अघि बढिरहेको छ ।
आयोजनाको प्रस्थान विन्दुका लागि छनोट भएको खोकना क्षेत्रमा जग्गा विवादसम्बन्धी समस्या कायमै रहेपछि छ विकल्पको अध्ययन भइरहेको सेनाले जानकारी दियो । करिब २५५ मिटर अग्लासहित विशेष प्रकारकासहित ६२ वटा पुल निर्माणको ठेक्का भइसकेको जनाउँदै सेनाले बाँकीको प्रक्रिया पनि तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।