काठमाडौं । सेयर बजारमा लगातार लगातार उच्च अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकले मंसिर २२ गते चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नीतिगत लचकता अपनाएपछि नेप्सेले एकोहोरो छलाङ मारिरहेको छ । त्यसयताका ९ कारोबार दिनमै नेप्सेले २९० अंकको फड्को मारेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंकदर र सेयर धितो कर्जाको जोखिम भार घटाएको थियो । राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो । त्यस्तै, ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले पनि पुस महिनामा निक्षेपको ब्याजदर घटाए । घट्दो ब्याजदर र राष्ट्र बैंकको लचकतापछि लगानीकर्ताको मनोवल बढ्दा सेयर बजारले लय समातेको हो ।
पछिल्लो २७ महिना यता घट्दो ट्रेन्डमा रहेको सेयर बजार अहिले तल्लो विन्दुमा आएको छ । यही बेला बढ्दो तरलता, घट्दो ब्याजदर, नीतिगत कडाइमा खुकुलो, अर्थतन्त्रमा क्रमशः सुधार देखिएपछि नेप्सेले लय समात्ने संकेत देखिएको हो । यद्यपि, २ वर्षको अवधिमा नेप्से ५ पटक २२०० विन्दु पुगे पनि सोभन्दा माथि गएको छैन । अहिले पनि सो विन्दु माथि नगएकाले बजारको बढाइले निरन्तरता पाउने भने लगानीकर्ता विश्वस्त छैनन् ।
बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको छ । नेप्से ६ महिनापछि २१५० विन्दु नजिक पुगेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज ७ अर्ब रुपैयाँ बढीको कारोबार भएके छ । यो एक वर्ष यताकै धेरै हो । आज ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र निर्जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । आज उत्पादनमूलक, व्यापार र लगानी समूहको कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटलको २४ करोड र सोनापुर सिमेन्टको २० करोड बढीको कारोबार भएको छ ।
उच्च अंकले बढेको बजारमा आज १४ कम्पनीको सेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन डिस्ट्रीलरी, फरवार्ड लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर, लिवर्टी इनर्जी, युनाइटेड इदीमार्दी, बलेफी हाइड्रोपावर, बीपीडब्ल्यू लघुवित्त, नागरिक मिडिया, थ्रीस्टार हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, हिमालयन हाइड्रोपावर र मृक्तिनाथ कृषि कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।