नेप्से २१०० विन्दु माथि उक्लियो, शिवम्को लाभांशमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा लगातार रौनक छाएको छ। लामो समयदेखि ओरालो लागेको नेप्से दुई सातादेखि लगातार उकालो लागिरहेको हो ।

नेपाल राष्ट्र बैंकले मंसिर २२ गते चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नीतिगत लचकता अपनाएपछि त्यसयता नेप्सेले लय समातेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंकदर र सेयर धितो कर्जाको जोखिम भार घटाएको थियो । त्यसयताका ८ कारोबार दिनमै नेप्सेले झन्डै २५० अंकको फड्को मारिसकेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो ।त्यस्तै, ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको थियो ।

घट्दो ब्याजदरले पनि लगानीकर्ताको मनोबल उकासेको छ । राष्ट्र बैंकले सहजीकरण गरिदिएसँगै बैंक तथा वित्तीय संस्थाले पुसका लागि ब्याजदर घटाएका छन् । जसको सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको छ । नेप्से ५ महिनापछि २०५० विन्दुमा उक्लेको हो । सूचकसँगै आज कारोबार रकम पनि उत्साहजनक नै रहेको छ । आज ३१३ कम्पनीको ५ अर्ब ९८ करोड रुपैयाँ बढीको १ करोड ६४ लाख ५७ हजार १६८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हिजो माइक्रोफाइनान्स समूहमा झुम्मिएका लगानीकर्ता आज होटल समूहमा आकर्षित भएका छन् । होटल समूहको परिसूचक आज सर्वाधिक ६.९८ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको कम्पनीको आज ३७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटलको २८ करोड र सोनापुर सिमेन्टको १६ करोड बढीको कारोबार भएको छ ।

उच्च अंकले बढेको बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नागरिक मिडिया, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, बीपीडब्लू लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, ग्लोबल आइएमई ब्यालेन्स फण्ड र तारागाउँ होटलका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

एनसेल खरिद-बिक्री प्रक्रिया स्वाभाविक नलागेरै छानबिन समिति गठन गरिएको हो : प्रधानमन्त्री Read Previous

एनसेल खरिद-बिक्री प्रक्रिया स्वाभाविक नलागेरै छानबिन समिति गठन गरिएको हो : प्रधानमन्त्री

अस्ट्रेलियालाई विश्वकप जिताएका प्याट कमिन्स बने आइपीएल इतिहासकै महँगा खेलाडी Read Next

अस्ट्रेलियालाई विश्वकप जिताएका प्याट कमिन्स बने आइपीएल इतिहासकै महँगा खेलाडी