काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ६० खर्ब नाघेको छ । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल ६० खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो नेपाली बैंकिङ इतिहासममा हालसम्मकै धेरै हो ।
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षे देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपीको आकारभन्दा पनि ठूलो रहेको छ । बैंकमा रहेको निक्षेप जीडीपीको १११.६८ प्रतिशत हो । पछिल्लो तथ्यांक अनुसार मुलुकको जीडीपी ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ।
रेमिटेन्समा आप्रवाहमा भएको सुधारले निक्षेप ह्वात्तै बढेको हो । साथै, अर्थतन्त्रमा आएको मन्दीको कारण कर्जा लगानी हुन नसक्दा पनि बैंकमा निक्षेप बढिरहेको हो
कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्रै ५३ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ४४ खर्ब २० अर्ब रहेको छ ।
निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । हाल समग्रमा सीडी रेसियो ८०.३४ प्रतिशत रहेको छ भने राष्ट्र बैंकले ९० प्रतिशतको सीमा तोकेको छ । यस आधारमा अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) रहेको छ ।
राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्र तर्फ साढे ११ प्रतिशत अर्थात् ५ खर्ब ६० अर्ब बढी कर्जा विस्तारको लक्ष्य राखे पनि सो हासिल नहुने देखिएको छ । चार महिनामा लक्ष्यको करिब २० प्रतिशत मात्रै कर्जा लगानी भएको छ । यद्यपि, पछिल्लो समय ब्याजदर घट्दो क्रममा रहेको र अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले आगामी दिनमा कर्जाको माग बढ्ने बैंकरहरू बताउँछन् ।
राष्ट्र बैंकले दुई साता अघि मौद्रिक नीति समीक्षामार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो । त्यसको प्रभाव स्वरुप बैंकहरूले धमाधम निक्षेपको ब्याज घटाएका छन् । निक्षेपको ब्याज घटेसँगै बैंकको लागत घट्न गई कर्जाको ब्याज समेत घट्छ ।
राष्ट्र बैंकले कर्जा लगानीमा समेत लचकता अपनाएको छ । रियल इस्टेट, व्यक्तिगत आवास कर्जा, सेयर धितो कर्जा, हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ ।यसले कर्जाको माग बढाउने अपेक्षा छ ।