अब ६ बैंकको मात्र लाभांश घोषणा हुन बाँकी, दुई वटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत वाणिज्य बैंकमध्ये अब ६ वटाले मात्रै गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

हाल संचालनमा रहेका २० मध्ये नेप्सेमा १९ वटा (राष्ट्रिय वाणिज्य बैंक बाहेक) सूचीकृत छन् । तीमध्ये हालसम्म ११ वटाले लाभांश घोषणा गरिसकेका छन् भने दुई वटाले नदिने घोषणा गरिसकेका छन् । अब ६ वटाले मात्र लाभांश दिने/नदिने घोषणा गर्न बाँकी छ ।

अब प्रभु, प्राइम कमर्शियल, कृषि विकास, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले मात्र गत वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

नेप्सेमा सूचीकृत संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधरण सभा गरिसक्नुपर्ने व्यवस्था छ । सो अनुसार अब लाभांश घोषणा गर्न बाँकी बैंकले यही पुस भित्रै गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने/नदिने घोषणा गरी साधरण सभा समेत गरिसक्नुपर्नेछ ।

लाभांश घोषणा गर्न बाँकी बैंकमध्ये सरकारी स्वामित्वको कृषि विकास र नेपाल बैंक बाहेक अन्य बैंकले गत वर्षको वितरण योग्य नाफाबाट लाभांश दिनसक्ने देखिँदैन । गत वर्ष हिमालयन बैंकको वितरणयोग्य नाफा ७१ करोड रुपैयाँ ऋणात्मक छ ।

त्यस्तै, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगाको लाभांश क्षमता १ प्रतिशत भन्दा कम छ भने प्राइमको १ प्रतिशत रहेको छ । यद्यपि, यी बैंकहरूले अघिल्ला वर्षहरूको संचिति रिटेन्ड अर्निङमा रहेको रकम थपेर लाभांश बाँड्न भने सक्छन् ।

एनआइसीले दियो धेरै, दुईको हात खाली

गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका ११ वाणिज्य बैंकमध्ये एनआइसी एशियाले सबैभन्दा धेरै दिएको छ । लगातार अघिल्ला ३ वर्ष लाभांश नबाँड्ेको एनआइसीले गत वर्ष सर्वाधिक ३०.५२ (२९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद) लाभांश दिएको छ ।

त्यस्तै, एभरेष्ट बैंकले २०.५३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत लाभांश दिएका छन् । सानिमा, माछापुच्छ्रे, नबिल र नेपाल एसबीआईले १० देखि १५ प्रतिशतको बीचमा लाभांश दिएका छन् भने अन्य बैंकले १० प्रतिशत कम लाभांश दिएका छन् ।

घोषणा गरेका मध्ये सिद्धार्थ बैंक्ले गत वर्षको नाफाबाट सबैभ्न्दा कम ४.२१ प्रतिशत लाभांश दिएको छ । कुमारी र एनएमबी बैंकले भने गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका छन् । विगतमा वर्षेनी लाभांश दिँदै आएका यी बैंकले यस वर्ष भने सेयरधनीको हात रित्तै बनाएका छन् ।

लाभांश घोषणा गरेका बैंकमध्ये लक्ष्मी सनराइज बाहेक अरु सबैले लाभांश प्रयोजनाका लागि बुकक्लोज समेत गरिसकेका छन् । केहीले साधरण सभा समेत सम्पन्न गरिसकेका छन् भने अरुले पनि मिति घोषणा गरिसकेका छन् । सम्बन्धित बैंकको सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।

१२ वर्षमा पनि बनेन तमोरको पुल, अझै कहिले बन्ने टुंगो छैन Read Previous

१२ वर्षमा पनि बनेन तमोरको पुल, अझै कहिले बन्ने टुंगो छैन

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?