सरकारको आम्दानीभन्दा खर्च ६९ अर्ब बढी, पूँजीगत खर्च १२ प्रतिशत मात्रै

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । मङ्सिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च रू ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो ५ महिना अवधिमा चालु खर्च ३१.५३, पूँजीगत खर्च ११.९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८.५२ प्रतिशत छ ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबरको बजेट ल्याइएकामा मङ्सिर मसान्तसम्ममा रू ३ खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख बराबर खर्च भएको छ । पूँजीगत शीर्षकमा रू ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बराबरको वार्षिक बजेट रहेकामा हालसम्म रू ३६ अर्ब ६ करोड ३ लाख बराबर मात्रै खर्च भएको छ ।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा रू ३ खर्ब ७ अर्ब ४५ लाख ३६ हजार बराबर वार्षिक विनियोजन रहेकामा हालसम्म रू ५६ अर्ब ९३ करोड ९७ लाख बराबर खर्च भएको छ ।

चालु आवको पहिलो ५ महिना अवधिमा सरकारको राजस्व सङ्कलन पनि लक्ष्यअनुसार हुन सकेको देखिँदैन । चालु आवका लागि कूल रू १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६.०७ प्रतिशत अर्थात् रू ३ खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख बराबर मात्रै राजस्व सङ्कलन भएको छ । यो अवधिसम्मको सरकारको आयव्ययको विश्लेषण गर्दा आम्दानीको तुलनामा रू ६९ अर्ब ७ करोड १५ लाख बढी खर्च भएको छ । अर्थात् ५ महिना अवधिमा रू ६९ अर्बभन्दा बढीको बजेट घाटा सरकारले व्यहोरेको छ ।

सरकारले चालु आवमा कर राजस्वतर्फ रू १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख र गैरकर राजस्वतर्फ रू १ खर्ब १७ अर्ब ६ करोड २१ लाख बराबर सङ्कलन गर्ने उद्देश्य राखेको छ ।

त्यस्तै रू ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य छ । चालु आर्थिक वर्षको सुरुआती ५ महिना अवधिमा कर राजस्व सङ्कलन वार्षिक लक्ष्यको २५.८३ प्रतिशत अर्थात् रू ३ खर्ब ३७ अर्ब १८ करोड ६७ लाख छ भने गैर कर राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२.४२ प्रतिशत अर्थात् रू २६ अर्ब २४ करोड २५ लाख बराबर छ । चालु आवको मङ्सिर मसान्तसम्ममा सरकारले रू २ अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिएको छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ Read Previous

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ

पर्साका ४ सिमेन्ट उद्योग बन्द, ५०० बढी मजदुर बेरोजगार Read Next

पर्साका ४ सिमेन्ट उद्योग बन्द, ५०० बढी मजदुर बेरोजगार