हाइड्रो चम्किँदा नेप्से २ हजार विन्दु माथि उक्लियो, ५ महिना यताकै धेरै कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि उकालो लागेको नेप्से आज लगातार चौथो दिन बढेको हो ।

सर्वोच्च अदालतले शुक्रबार मर्जर र एफपीओमा बार्गेन पर्चेज गेनबापत कर तिर्नुपर्ने आदेश दिएपछि आज बिहान बजार खुल्ने बित्तिकै नेप्से ३७ अंकले घटेको थियो । तर, पछि सम्हालिँदा अन्त्यमा २७ अंकले बढेर बन्द भएको हो ।

वाणिज्य बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याजदर घटाएसँगै सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो । आइतबार नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको छ । नेप्से झन्डै ३ महिनापछि २ हजार विन्दुमा उक्लेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज ५ अर्ब १५ करोड बढीको सेयर किनबेच भएको छ । यो ५ महिना यताकै उच्च हो । आज २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभ्न्दा धेरै ५.५५ प्रतिशतले बढेको छ ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज १ दर्जन बढी कम्पनीको सेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), रिडी पावर, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रो, भूगोल इनर्जी, दोर्दीखोला, सगरमाथा जलविद्युत् विन्ध्याबासिनी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, थ्रीस्टार, रावा इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

भिजिट भिसामा विदेश जान लागेका १५०० मध्ये २४६ जनाको कागजात नक्कली Read Previous

भिजिट भिसामा विदेश जान लागेका १५०० मध्ये २४६ जनाको कागजात नक्कली

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, मंसिरमा ६० प्रतिशतले बढ्यो Read Next

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, मंसिरमा ६० प्रतिशतले बढ्यो