बैंकबाट ऋण लिएर सेयर किन्ने बढे, ४ महिनामा लिए ५ अर्ब ऋण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किन्ने बढेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा सहजै ऋण पाइने, ब्याजदर घट्दो क्रममा रहेको र अधिकांश कम्पनीको सेयर मूल्य १ वर्ष यताकै सस्तो भएपछि लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ४ महिनामा सेयर धितो कर्जा लगानी ५.९८ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा कात्तिक मसान्त आइपुग्दा बढेर ८१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

जबकि, राष्ट्र बैंकले कडाइ गर्दा अघिल्ला २ वर्षमै सेयरधितो कर्जा ३० अर्ब रुपैयाँले घटेको थियो । चालु आवको ४ महिनामा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ८६ करोड मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका हुन् । चालु आवमा औसतमा हरेक महिना झन्डै सवा अर्ब सेयर कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकका अनुसार साउनमा १० करोड, भदौमा १ अर्ब २७ करोड, असोजमा ३ अर्ब ३२ करोड र कात्तिकमा १७ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी भएको छ ।

यस अवधिमा १ करोड बढीको ऋण धेरै बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ४४ अर्ब ७१ करोड रहेकोमा कात्तिकमा आइपुग्दा बढेर ४८ अर्ब १५ करोड पुगेको छ । यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ५ करोड ९१ करोड सेयर धितो कर्जा लगानी भएको छ ।

त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी ८ प्रतिशतले बढेको छ । असारसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड कर्जा लगानी भएकोमा कात्तिक आइपुग्दा १ अर्ब २ करोड बढेर १३ अर्ब ८० करोड पुगेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

त्यस्तै, सेयर बजार अहिले पछिल्लो २७ महिना यताकै न्यून विन्दुमा आइपुगेको छ । अहिले सेयर बजारलाई प्रभाव पार्ने अधिकांश सूचकहरु सकारात्मह रहेकाले आगामी दिनमा बजारले लय समात्ने आशामा लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेको देखिन्छ ।

राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकूश हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८र७९ को मौद्रिक नीति मार्फत ४र१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९र८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । हालै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

अहिले बैंकिङ प्रणालीम अधिक तरलता छ । बैंकहरूसँग झन्डै ५ खर्ब लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले ब्याजदर घटाउन थालेको छन् । अधिकांश बैंकले कात्तिकदेखि नै ब्याजदर घटाएका छन् । हालै राष्ट्र बैंकले बैंकदर, नीतिगत दर घटाएकाले पुसमा झन् घट्ने देखिन्छ ।

शनिबार काठमाडौंका यी ३ दर्जन बढी ठाउँमा बिजुली काटिने Read Previous

शनिबार काठमाडौंका यी ३ दर्जन बढी ठाउँमा बिजुली काटिने

सुर्तीजन्य पदार्थ बिक्री वितरण नरोक्न उच्च अदालतको आदेश Read Next

सुर्तीजन्य पदार्थ बिक्री वितरण नरोक्न उच्च अदालतको आदेश