मुग्लिन-पोखरा सडक धमाधम कालोपत्र हुँदै, १२.५ किमीमा एकतर्फी सकियो

फाइल तस्वीर । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नालामा सडक कालोपत्र गरिँदै ।

दमौली, २९ मङ्सिर स् मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।

यो सहित पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत मङ्सिर २२ गते आँबुखैरेनी –३ गाउँपालिकाचोकदेखि पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडी बढाइएको थियो ।

उनले भने, ‘यसअघि बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको खण्डमा गाउँपालिका चोकदेखि कालोपत्र जोडिएको छ । अब अर्कोतर्फ कालोपत्रको काम अगाडी बढाउने तयारी गरिएको छ ।’

यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन.५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फी रुपमा १२.५ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१.५ किलोमिटर दूरीको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडी बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइउको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।रासस

भन्सार छलेर ल्याएको ३२ लाखको अवैध सामान बरामद Read Previous

भन्सार छलेर ल्याएको ३२ लाखको अवैध सामान बरामद

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग Read Next

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग