काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षापछि बैंकहरूले ब्याजदर घटाउन थालेका छन् । वित्तीय प्रणालीमा कायम अधिक तरलता र नेपाल राष्ट्र बैंकले घटाएको नीतिगत दरका कारण बैंकहरूले अर्को महिना आउन अघि नै ब्याजदर घटाउन थालेका हुन् ।
सामान्यतया बैंकहरूले चालु महिनाको अन्तिम दिन आगामी महिनाका लागि ब्याजदर सार्वजनिक गर्ने प्रचलन छ । तर, अहिले बैंकहरूले नयाँ महिना आउनु १० दिन अघिदेखि ब्याजदर घटाउन थालेका हुन् ।
चालु आवको सुरुदेखि बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि उच्च ब्याजदरका चारण ऋणको माग वृद्धि भएको छैन । कर्जा लगानी बढाउन नसकेका बैंकहरू अर्कोतिर महंगो ब्याजदरको निक्षेप संकलन गर्दा लागतको दबाबमा छन् ।
सोही कारण अहिले बैंकहरू ब्याजदर घटाउने प्रतिस्प्रर्धामा देखिन थालेका हुन् । गत फागुनदेखि निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । त्यसको प्रभाव भने यो वर्षको असोज पछि बैंकको आधारदरमा देखिएको छ ।
चालु वर्षको पहिलो त्रैमासदेखि बैंकको आधारदर एकल अंकमा आएको छ । यो बैंकहरूले निरन्तर निक्षेपको ब्याजदर घटाउँदै जाँदा देखिएको प्रभाव हो । बैंकको आधारदरमा आउने फेरबदलले कर्जाको ब्याजदर समेत फरक पर्ने गरेको छ ।
कर्जाको ब्याजदर पनि तेस्रो त्रैमासदेखि औसतमा एकल अंकमा आउने बैंकरहरूको अनुमान छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत ब्याजदर घटाएर कर्जा विस्तार बढाउने नीति लिएको छ ।
समीक्षा मार्फत बैंकहरूले कर्जा लगानी गर्नसक्ने क्षेत्र खुकुलो बनाएको छ भने निक्षेपको ब्याजदर, नीतिगतदर र बैंकदर घटाएको छ । राष्ट्र बैंकले समीक्षा मार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ ।
अहिले पनि प्रणालीमा अधिक तरलताको कारण अन्तर बैंक ब्याजदर औसतमा २ प्रतिशत रहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षा मार्फत गरिएको व्यवस्थाले बैंकको ब्याजदर क्रमशः घट्दै गएको बताए ।
‘राष्ट्र बैंकले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा मार्फत व्यवस्था गरेको छ,’ उनले भने, ‘यसले क्रमश बैंकको ब्याजदर घट्दै गएको छ । अहिले बैंकको अन्तर ब्याजदर २.५ प्रतिशत कायम भएको छ ।’
पुसका लागि अधिकांश बैंकहरू निक्षेपको ब्याजदर घटाउने तयारीमा छन् । जसको कारण बैंकको आधारदर अझै घटेर कर्जाको ब्याजदर सस्तो हुने बैंकरहरू बताउँछन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत शुक्रबार मौद्रिक नीतिको समीक्षापछि आयोजित कार्यक्रममा बैंकको ब्याजदर घट्दै गएको र यसले आर्थिक गतिविधिमा सहयोग पुर्याउने बताए । ‘पछिल्लो समय अल्पकालीन ब्याजदरहरू घट्दै गएका छन् दीर्घकालीन ब्याजदर घट्ने प्रवृत्तिमा छन्,’ उनले भने, ‘यसले क्रमश आर्थिक गतिविधि बढाएर बजारमा माग बढ्ने अपेक्षा गरिएको छ ।’
ब्याजदर घटाउन प्रतिस्पर्धा
म्हिनाको मसान्त अघि नै बैंकहरूबीच बीच ब्याजदर घटाउने प्रतिस्पर्धा देखिएको छ । राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गरेको भोलिपल्टै बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । बैंकहरूले महिनाको मसान्तमा अर्को महिनाको ब्याजदर तय गर्दै आएका थिए । तर, यसपटक साताअघि नै चारवटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।
आइतबार एनआइसी एसिया बैंकले पुसको लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने मंगलबार माछापुच्छ्रे बैंकले मंसिर २६ देखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ ।
माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको यो एक महिनामै दोस्रो पटक हो । यसब बैंकले कात्तिकमा मंसिरका लागि ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत र संस्थागतमा ८.६०३ प्रतिशत ब्याज दिएको थियो ।
मंगलबारदेखि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.६० प्रतिशत ब्याजदर तय गरेको छ । पुसको लागि एनआइसी एसिया बैंकले व्यक्तिगत तर्फ अधिकतम ८.६७ र संस्थागततर्फ ५.५ प्रतिशतदेखि अधिकतम् ६.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस बैंकले मंसिर लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.९६८ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ६.९६८ प्रतिशत ब्याज दिइरहेको छ । यसैगरी, कुमारी र एनएमबी बैंकले पनि ब्याजदर घटाएका छन् । विकास बैंकहरूले पनि ब्याजदर घटाउन थालेका छन् ।
निरन्तर ओरालो लाग्दै ब्याजदर
२०७९ फागुनदेखि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । जसको कारण उनीहरूको आधारदर घटेर त्यसको प्रभाव कर्जाको ब्याजदरमा देखिएको छ ।
२०७९ चैतमा वाणिज्य बैंकको आधारदर औसतमा १०.४८ प्रतिशत रहेकोमा २०८० असारमा १०.०५ प्रतिशत र २०८० असोजमा ९.९० प्रतिशतमा आएको छ । यो क्रम आगामी दिनमा कायमै रहने बैंकहरूले अहिले घटाइरहेको निक्षेपको ब्याजदरले देखाउँछ ।
राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकको औसतमा निक्षेपको ब्याजदर ७.९ प्रतिशत रहेको भने कर्जाको ब्याजदर औसतमा १२.११ प्रतिशत हरेको छ । गत चैतमा वाणिज्य बैंकको औसत कर्जाको ब्याजदर औसतमा १४ प्रतिशतसम्म पुगेको थियो ।