काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य अचाक्ली बढेको छ । भारतले सन् २०२४ को मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा मूल्या ह्वात्तै आकाशिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एकसातामै प्याजको मूल्य ४५ प्रतिशतले बढेको छ । मंसिर १८ गतेसम्म सुकेको प्याज (भारतीय) प्रतिकेजी औसतम मूल्य ९७ रुपैयाँ रहेकोमा सोमबार प्रतिकिलो औसतमा १४१ रुपैयाँ बढेको छ । एकसाताको अवधिमै प्याजको मूल्य प्रतिकिलो ४४ रुपैयाँले बढेको हो ।
खुद्रा बजारमा भने प्याजको भाउ प्रतिकिलो १८० रुपैयाँसम्म पुगेको छ । मूल्य बढ्नुका साथै बजारमा प्याजको अभाव समेत हुन थालेको छ । आयात प्रतिबन्धको घोषणासँगै ठूला व्यपारीहरूले आफूसँग भएको स्टक प्याज लुकाउन थालेकाले बजारमा तुरुन्तै अभाव देखिएको हो ।
सामान्य अवस्थामा व्यापारीसँग कम्तीमा एक हप्ताका लागि पुग्ने प्याज स्टक हुने भए पनि आयात प्रतिबन्धको बाहनामा भाउ बढाउन लुकाउन थालेको खुद्रा व्यापारी बताउँछन् । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा ठूला व्यापारीले कृत्रिम अभाव गराई मनलाग्दी भाउ बढाउने गरेका छन् ।
नेपाल प्याजमा पूर्णरुपमा परनिर्भर रहेको छ । स्वदेशी उत्पादनले कुल मागको करिब १० प्रतिशत मात्रै धान्ने गरेको छ भने ९० प्रतिशत आयातमै निर्भर रहेको छ । नेपालमा वार्षिक औसतमा ५ अर्ब बढीको प्याज आयात हुँदै आएको छ । चालु आवको चार महिना (कात्तिकसम्म) मात्रै १ अर्ब ६२ करोड रुपैयाँ बढीको ३ करोड ९१ लाख किलो प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ ।
नेपालमै उत्पादन गर्न सकिने भए पनि व्यवसायिक रुपमा खेती हुन नसक्दा प्याजको उत्पादन वृद्धि हुन सकेको छैन । हरेक तरकारीमा प्रयोग गरिने प्याजको उत्पादन बढाउन सरकारले प्रोत्साहन नगर्दा, उन्नत जातको बीउ अभाव, भण्डार केन्द्र अभाव लगायत कारणले प्याज खेतीप्रति किसान आकर्षित हुन सकेका छैनन् ।
मूल्य बढाउन एकपछि अर्को बाहना
नेपालमा गत जेठयता प्याजको मूल्य लगातार बढिरहेको छ । नेपाल र भारत सरकारले गरेका नीतिगत निर्णय प्याजको भाउ बढाउने बाहना बनेका छन् ।
नेपाल सरकारले चालु आवको बजेट (जेठ १५ गते)मार्फत आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेसँगै मूल्य ह्वात्तै बढेको थियो । सोबेला प्रतिकिलो ३५ रुपैयाँ हाराहारीमा रहेको प्याज दोब्बरले बढेर प्रतिकिलो ७० रुपैयाँसम्म पुगेको थियो ।
त्यसपछि गत भदौमा भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको थियो । सोबेला प्रतिकलो ६० रुपैयाँ हाराहारीमा रहेको प्याजको भाउ ह्वात्तै बढेर प्रतिकिलो ८० रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै, कात्तिक दोस्रो साता भारत सरकारले प्याजको निर्यातको मूल्य प्रतिटन ८०० अमेरिकी डलर तोकेपछि भाउ झनै बढेको थियो । भारतको सो निर्णयपछि नेपाली बजारमा प्याजको भाउ प्रतिकिलो ८० रुपैयाँबाट एकैपटक १२५ रुपैयाँ पुगेको थियो । त्यसयता केही घटेको प्याजको भाउ भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै किलोकै डेढ सय हाराहारीमा पुगेको हो ।