अब बैंकका एक्सटेन्सन काउन्टरबाट पनि विदेशी मुद्राको कारोबार गर्न पाउने

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाका एक्सटेन्सन काउन्टरबाट पनि विदेशी मुद्राको कारोबार गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७’ को दोस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको लाइसेन्सका आधारमा शाखाबाट मात्र विदेशी विनिमयको कारोबार गर्न पाउँथे । अब वित्तीय संस्थाले विदेशी विनिमयको कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टर तोकी त्यस्ता शाखा तथा एक्सटेन्सन काउन्टरबाट विदेशी विनिमयको कारोबार गर्न राष्ट्र बैंकले जनाएको छ ।

मर्जर वा प्राप्तिमा सहभागी भई नयाँ नाम कायम हुने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको हकमा साविकको इजाजतपत्र फिर्ता लिई इजाजतपत्रप्राप्त संस्थाको नामबाहेक अन्य सम्पूर्ण व्यहोरा साविकको इजाजतपत्रमा उल्लेख भएबमोजिम कायम हुने गरी नयाँ इजाजतपत्र प्रदान गरिनेछ ।

यस्तै, अब विदेशी विनिमय कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले विनियमावली अनुसार इजाजतपत्र पाउनेछन् । मनिचेन्जर कारोबार गर्न भने नेपाल राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ बमोजिम र विप्रेषण कारोबार गर्न नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ बमोजिम छुट्टै इजाजतपत्र लिनुपर्नेछ ।

विदेशी विनिमयको कारोबार गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रका लागि विदेशी विनिमय कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टरको नाम, ठेगानासहित अनुसूची–१ बमोजिमको ढाँचामा अनुसूची–१ (क) बमोजिमका कागजातसहित विदेशी विनियम विभागमा निवेदन दिनुपर्नेछ ।

क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

 

पर्यटकको आकर्षणको केन्द्र बन्दै पुम्दीकोट, यसरी फेरियो परिचय Read Previous

पर्यटकको आकर्षणको केन्द्र बन्दै पुम्दीकोट, यसरी फेरियो परिचय

हुलाकी सडकले फेरिँदै गाउँको जनजीवन, दुर्गमलाई बनाउँदै छ सुगम Read Next

हुलाकी सडकले फेरिँदै गाउँको जनजीवन, दुर्गमलाई बनाउँदै छ सुगम