काठमाडौं । सेयर बजारमा आज दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएर खुलेको नेप्से फेरि २ मिनेटमै ५ प्रतिशतले बढेपछि कारोबार ३० मिनेटका लागि स्थगन भएको हो ।
आज जम्मा ७ मिनेट कारोबार हुँदा नेप्से परिसूचक ९२.७३ अंकले बढेर १९४५.५१ विन्दुमा पुगेको छ । यस अवधिमा साढे २९ करोड बढीको कारोबार भएको छ ।
नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।
त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर र सेयर कर्जाको जोखिम भार समेत घटाएपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो ।