महानगरले ल्याउने दुई नयाँ ब्रुमर खरिद अझै अन्यौलमै

काठमाडौं । काठमाडौं महानगरले ल्याउन लागेको २ वटा नयाँ ब्रुमर खरिद अझै अन्यौलमै रहेको छ । थप दुई वटा ब्रुमर ल्याउने प्रकृया अघि बढेर महानगरका टोली इटली पुगे पनि अझै ब्रुमर किन्ने कुरा टुङगो नलागेको हो ।

 

महानगरको गत वैशाख २६ मा बसेको ३२औँ कार्यपालिका बैठकले थप दुई ब्रुमर किन्ने निर्णय गरेको थियो । महानगरले फुटपाथमा समेत ब्रुमरले नै बढार्न मिल्ने खाल्को ब्रुमर खोजेको तर, त्यस अनुसार नभेटिदा ब्रुमर खरिदले गति लिन नसकेको हो ।

 

महानगरका एक कर्मचारीले भने ‘ ब्रुमर आउने नआउने टुङ्गो लागिसकेको छैन, पहिले बाटोको अवस्था हेरेर किनियो अब बाटोसँगै फुटपाथ समेत बढार्ने खाल्को ब्रुमर किन्न खोजेकोले त्यस अनुसार नपाउँदा अन्योल भएको हो ।’

 

यस्तै वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ब्रुमर खरिद अन्यौलको विषयलाई ढाकछोप गर्दै इटलीबाट टोलि फर्किन क्रममा रहेकोले ब्रुमर समेत बाटोमै आउँदै गरेको बताएका छन् ।

 

नयाँ ब्रुमर इटली बाटै ल्याउन लागिएको हो । महानगरका केही टोली इटली पुगि फर्किसकेको महानगरले जनाएको छ ।हाल महानगरसँग ७ वटा ब्रुमर रहेको छ । ७ वटा मध्ये ५ वटा ब्रुमर २०७५ चैत्र १२ गतेबाट आधिकारीक रुपमा काठमाडौंका मुख्य-मुख्य चोकहरुमा सफा गर्ने गरी सञ्चालन आएको थियो ।

 

काठमाडौंका सडकको धूलो बढार्न महानगरले करिब ११ करोडमा ५ वटा इटलियन ब्रुमर खरिद गरिसकेको हो । २०७५ असार १ गते चीनको छेन्दु नगरले महानगरलाई दुई ब्रुमर हस्तान्तरण गरेको थियो ।

 

यसरी ७ वटा ब्रुमरबाट हाल काठमाडौंका मुख्य चोकहरुमा सरसफाइको काम भइरहेको छ । सोही कामलाई निरन्तरता दिन र काठमडौंलाई धूलो मुक्त बनाउन काठमाडौं महानगरका मेयर विद्या सुन्दरले थप दुई वटा नयाँ ब्रुमर ल्याउने घोषणा गरेका थिए ।

 

हाल सबै ब्रुमर सञ्चालनमा रहे पनि सबै सडकहरु सफा गर्नलाई यी ब्रुमर अपुग रहेका छन् । अर्को तर्फ काठमाडौंका खाल्डाखुल्डी र सयम सयममा वर्षा हुँदा पोखरी बन्ने सडकहरुमा ब्रुमरको प्रयोग मुस्कील बन्ने गरेको छ ।

 

एउटा ब्रुमरले १ घण्टामा ५ किलोमिटर सडकको धूलो उठाउने क्षमता राख्छ । महानगरले दैनिक २ सय किलोमिटर सडक सफा गर्ने उद्देश्यसहित ब्रुमर ल्याएको हो । ५ वटा ब्रुमरमध्ये ४ वटा १६ टन क्षमता बराबरका रहेको छ भने अर्को एउटा ६ टन क्षमताको रहेको छ ।

 

महानगरपालिकाले हरेक दिन राती ८ बजेदेखि बिहान ४ बजेसम्म ८ घन्टा ब्रुमर संचालन गर्दै आएको छ । ४ वटा ठूला ब्रुमर १ करोड ७९ लाख ५३ हजार ११५ रुपैयाँको दरमा खरिद गरिएको हो भने अर्को सानो ब्रुमरको १ करोड ४८ लाख रुपैयाँमा खरिद गरिएको हो ।

चक्रपथ भित्र दुई दिन जोर–बिजोर प्रणाली लागू हुने Read Previous

चक्रपथ भित्र दुई दिन जोर–बिजोर प्रणाली लागू हुने

ग्लोबल र जनता बैंकलाई मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति Read Next

ग्लोबल र जनता बैंकलाई मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति