काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र ७ दिन (मंसिर २७ गतेसम्म)का लागि बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको जनाएको छ । बोलकबोल आज हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।
पछिल्लो समय कर्जाको माग नहुँदा पैसा बैंकिङ प्रणालीमा थुप्रिन थालेपछि राष्ट्र बैंकले पटक पटक रिभर्स रिपोमार्फत पैसा खिच्दै आएको छ । हाल प्रणालीमा ५ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हाराहारीमा आएको छ ।
बैंकिङ प्रणालीमा पैसा थुप्रिएसँगै अन्तर बैंकदर, ट्रेजरी बिलको ब्याजदर पनि घट्दै गएको छ ।