काठमाडौं । विवाहको सिजनमै नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत साता लगातार ३ दिन उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्यले यस साता पनि लगातार दोस्रो दिन रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि हिजो (मंसिर १७ गते) १ लाख २० हजार ८०० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँ बढेर १ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ८८ अमेरिकी डलर पुगेको छ ।
अन्य समयको तुलनामा विहेको सिजनमा सुनको खपत बढ्ने भए पनि अचाक्ली मूल्यवृद्धिले खपत बढ्न नसुकेको व्यापारीहरु बताउँछन् ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।