काठमाडौं । पछिल्लो समय पेट्रोलियम पद्धार्थको खपत बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा गत वर्षको सोही अवधिको तुलनामा डिजेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खपत बढेको हो ।
यद्यपि, पेट्रोल र मट्टीतेलको भने घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार चालु आवमा डिजेल आयात ५.५१ प्रतिशतले बढेको छ । चालु आवको कात्तिकसम्म ३ लाख ५९ हजार ६०० किलोलिटर डिजेल आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १९ हजार किलोलिटर धेरै हो । गत वर्ष कात्तिकसम्म ३ लाख ४० हजार ८३० किलोलिटर डिजेल आयात भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा हवाई इन्धन आयात ३.२१ प्रतिशतले बढेको छ । कात्तिकसम्म ६१ हजार ६६४ किलोलिटर हवाई इन्धन आयात भएको छ । गत वर्ष सोही अवधिमा ५९ हजार ७४४ किलोलिटर आयात भएको थियो ।
त्यसैगरी, खाना पकाउने एलपी ग्यासको आयात पनि बढेका छ । गत वर्ष कात्तिकसम्म १६ करोड ७१ लाख किलोलिटर ग्यास आयात भएकोमा चालु वर्ष ०.४९ प्रतिशतले बढेर १६ लाख ७९ लाख किलो ग्यास आयात भएको छ ।
समीक्षा अवधिमा पेट्रोल र मट्टीतेलको आयात भने घटेको छ । यस अवधिमा पेट्रोल आयात २.३२ प्रतिशत र मट्टीतेल ३.०६ प्रतिशतले घटेको छ । चालु आवको कात्तिकसम्म २ लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत वर्ष सोही अवधिमा २ लाख २९ हजार किलोलिटर आयात भएको थियो । त्यस्तै, गत वर्ष ३ हजार १७२ किलोलिटर मट्टीतेल आयात भएकोमा चालु आवमा घटेर ३ हजार १७२ किलोलिटरमा सीमित भएको विभागको तथ्यांक छ ।
समग्रमा पेट्रोलियम पद्धार्थको आयात बढे पनि विदेशिने रकम भने घटेको छ । गत वर्ष ४ महिनामा कुल ९५ अर्ब ५२ करोडको इन्धन आयात भएकोमा चालु आवको सोही अवधिमा ८५ करोड ८२ लाख रुपैयाँको आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउँदा बाहिरिने रकम घटेको हो ।
यस्तै, यस अवधिमा सरकारले पाउने राजस्व पनि घटेको छ । गत वर्ष कात्तिकसम्म पेट्रोलियम पद्धार्थ आयातबाट सरकारले ३२ अर्ब ११ करोड राजस्व पाएकोमा चालु आवमा ३१ अर्ब ६७ करोडमा सीमित भएको छ ।
पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले डिजेल खपत बढेको नेपाल आयल निगमले जनाएको छ । निर्माण गतिविधि बढ्न थालेकाले सिमेन्ट, डण्डी लगायत उद्योग संचालन हुन थालेकाले डिजेलको खपत बढेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढ्न थालेकाले डिजेल खपत बढेको हो ।
त्यस्तै, पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा हवाई इन्धन र खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकको संख्या बढ्दा आन्तरिक र बाह्य दुवै हवाई उडान संख्या बढेको छ । जसले इन्धन खपत बढाएको हो ।
त्यसैगरी, पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरु पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो । सन् २०२३ को ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल आएका छन् ।
पेट्रोलको खपत घट्नुमा भने विद्युतीय सवारीसाधनको संख्या बढ्नै जानु र भारतमाभन्दा नेपालमा मूल्य महँगो हुनु कारण रहेको निगमको भनाइ छ । विगतमा नेपालमा भाउ सस्तो हुँदा सीमा क्षेत्रमा भारतीयहरु पेट्रोल हाल्न आउने गरेका थिए । तर, अहिले भारतमाभन्दा नेपालमा महँगो हुँदा आउन छाडेका छन् जसले खपत केही घटेको हो ।