हिमालय एयरलाइन्सको काठमाडौं-साङ्घाई सिधा उडान सुरू

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा शनिबारदेखि नियमित उडान प्रारम्भ गरेको हो ।

काठमाडौं–साङघाई उडान ५ घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार विहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न ९ सहरमा उडान विस्तार गरेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौं–साङ्घाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

उपाध्यक्ष श्रेष्ठले कोभिड-१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक १०० भन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत–जावत गरिरहेको जानकारी दिए।

नेपालका लागि चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई–काठमाडौँमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए।

साङ्घाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसङ्ख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ । यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

 

सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो Read Previous

सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

सडक बत्तीको बक्यौता पालिकाबाटै असुल्न अर्थ मन्त्रालयको निर्देशन Read Next

सडक बत्तीको बक्यौता पालिकाबाटै असुल्न अर्थ मन्त्रालयको निर्देशन