काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रमा केही अप्ठेरो परिस्थिति देखिएको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)को वार्षिकउत्सवमा बोल्दै केसीले यस्तो बताएका हुन् ।
‘अहिले बैंकिङ क्षेत्रमा केही रुपमा अप्ठेरो पार्ने स्थिति पनि देखिएका छन् । त्यसैले कन्फिडेन्सलाई अगाडी बढाउन जरुरी रहेको छ । त्यसको लागि सरकारको तर्फबाट हुनुपर्ने अपेक्षा गर्दछौं,’ उनले भने । नेपालको बैंकिङले छोटो समयमै सामाजिक र आर्थिक रुपान्तरणको लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।
अहिले बैंकहरुले उत्पादनमा लगानी बढाउँदै लगेको उनले बताए । सोही लगानीको कारणले गर्दा नेपालको विद्युत, सिमेन्ट लगायतमा निर्यात गर्न थालेको उनले बताए । वैदेशिक लगानी भित्र्याउनको लागि सरकारले सहजिकरण गर्नुपर्ने उनले धारणा राखे ।
‘पहिलो कुरा भनेको नेपालको कन्ट्रि रेटिङ आवश्यक छ । यो हुन सकेको छैन, विदेशबाट पैसा आउनका हेजिङका कुराहरु पनि छन्, आज पनि हामी बाहिरबाट आउने पैसामा कर लगाएर निरुत्साहन गरिरहेका छौं,’ उनले भने, ‘एफडीआइ प्राप्तिको लागि जुन सम्भावना छ, त्यसमा सरकारको तर्फबाट काम गर्नुपर्ने आवश्यकता छ ।’