जीवन बीमा व्यवसायमा सुधार, नेपाल लाइफको वर्चश्व कायमै

काठमाडौं । आर्थिक शिथिलताका बाबजुद जीवन बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चार महिना (साउन-कात्तिक)सम्म व्यवसाय साढे ७ प्रतिशतले बढाउन सफल भएका छन् ।

चालु आवको कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब ४३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७.४४ प्रतिशत बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीहरूले ४६ अर्ब १ करोड रुपैयाँ बराबर प्रिमियम संकलन गरेका थिए ।

कम्पनीहरूले चालु वर्षको चार महिनामा संकलन गरेको प्रिमियम गत वर्षको सोही अवधिकोभन्दा ३ अर्ब ४२ कारोड रुपैयाँले बढी हो । यद्यपि, यस अवधिमा कम्पनीहरूको प्रथम बीमा शुल्क संकलन भने घटेको छ ।

यस अवधिमा कुल सक्रिय बीमा लेखको संख्या २ लाख २२ हजारले घटेको छ । गत वर्षको कात्तिकसम्म सक्रिय रहेको कुल बीमा लेखको संख्या १ करोड ३९ लाख रहेकोमा यस वर्षको सोही अवधिसम्म आइपुग्दा घटेर १ करोड ३७ लाख रहेको छ । जबकि यस वर्ष तीनवटा लघु जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय थपिएको छ । गत वर्षको कात्तिकसम्मको तुलनामा यस वर्ष ४८ लाखले प्रथम बिमा शुल्क संकलन घटेको छ ।

प्राधिकरणका अनुसार गत वर्षको कात्तिक मसान्तसम्म ९ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका कम्पनीहरूले यस वर्ष घटेर ८ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ ।

गत वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको असर यस वर्षको प्रथम त्रैमासमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा देखिएको थियो । सोही कारण वाणिज्य बैंककै खुद नाफामा उच्च गिरहावट आएको थियो भने अन्य विकास बैंक र वित्त कम्पनीहरू घाटामा समेत गएका थिए । जीवन बीमा कम्पनीहरूले चालु वर्षको पहिलो त्रैमासमा १४.०४ प्रतिशतल व्यवसाय बढाएका थिए ।

कुनले कति गरे बढाए व्यवसाय ?

कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १४ बीमा कम्पनीमध्ये ५ कम्पनीको प्रिमियम घटेको छ भने ९ कम्पनीको वृद्धि भएको छ ।

यो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क वृद्धि गर्नेमा राष्ट्रिय बीमा संस्थान पहिलो नम्बरमा रहेको छ । यस कम्पनीले १८५.५८ प्रतिशतले व्यवसाय बढाएको छ ।

प्रभु महालक्ष्मी कम्पनीले १४ प्रतिशतले प्रिमियम बढाउँदा आइएमई लाइफले १३ प्रतिशतले बढाएको छ । नेपाल लाइफ इन्स्योरेन्स ४, एशियन लाइफ ३, रिलायबल नेपाल ६, सानिमा रिलायन्सले ३ प्रतिशत र मेटलाइफले १ प्रतिशत बढीले व्यवसाय विस्तार गरेका छन् ।

सबैभन्दा धेरै सन् नेपाल इन्स्योरेन्सको १६ प्रतिशतले व्यवसाय घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्म जीवन बीमा कम्पनीहरूले संकलन गरेको बीमा शुल्क (रू. लाखमा)
जीवन बीमा कम्पनी २०८० २०७९ फरक %
राष्ट्रिय बीमा संस्थान 42,301.79 14,812.54 185.58
नेशनल लाइफ इन्स्योरेन्स 52,935.62 54,902.43 -3.58
नेपाल लाइफ इन्स्योरेन्स 134,376.94 129,146.16 4.05
लाइफ इन्स्योरेन्स कर्पोरेशन 55,659.36 57,665.42 -3.48
मेट लाइफ इन्स्योरेन्स 17,154.15 16,819.04 1.99
एशियन लाइफ इन्स्योरेन्स 23,651.78 22,790.06 3.78
सूर्यज्योति लाइफ इन्स्योरेन्स 27,621.45 29,074.84 -5.00
आइएमई लाइफ इन्स्योरेन्स 13,034.70 11,510.41 13.24
सन नेपाल लाइफ इन्स्योरेन्स 11,282.38 13,484.42 -16.33
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स 18,953.87 18,344.93 3.32
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स 12,126.85 11,437.55 6.03
सिटिजन लाइफ इन्स्योरेन्स 17,870.25 18,303.88 -2.37
प्रभु महालक्षमी लाइफ इन्स्योरेन्स 13,737.54 12,005.42 14.43
हिमालयन लाइफ इन्स्योरेन्स 53,656.16 49,818.25 7.70
जम्मा/औसतमा 494,362.84 460,115.35 7.44

प्रिमियम संकलन

सबैभन्दा धेरै नेपाल लाइफले प्रिमियम संकलन १३ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । लामो समयदेखि जीवन बीमामा वर्चश्व राख्दै आएको यस कम्पनीको एक्लैले एकतिहाई बढी व्यवसायिक हिस्सा ओगटेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले ५ अर्ब ५६ करोड रुपैयाँले प्रिमियम संकलन गरेको छ । हालसम्म हिमालयन लाइफको ५ अर्ब ३६ करोड, नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब २९ करोड, राष्ट्रिय बीमा संस्था ४ अर्ब २३ करोड, सूर्यज्योति लाइफ २ अर्ब ७६ करोड, एशियन लाइफले २ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

यसैगरी, सानिमा रिलायन्स, सिटिजन लाइफ, मेटलाइफ, प्रभुमहालक्ष्मी लाइफ, आइएमई लाइफ, रिलायबल र सन् नेपाल लाइफ इन्स्योरेन्सले १÷१ अर्ब रुपैयाँभन्दा बढी प्रिमियम संकलन गरेका छन् ।

बजेट अभावमा महाकालीमा ४ लेनको पुल निर्माण ठप्प Read Previous

बजेट अभावमा महाकालीमा ४ लेनको पुल निर्माण ठप्प

कोप-२८ : नेपालको माग सम्बोधन हुने सम्भावना कति ? Read Next

कोप-२८ : नेपालको माग सम्बोधन हुने सम्भावना कति ?