काठमाडौं। नेपालबाट इन्डोनेशिया जाँदा स्टिकर भिसा अनिवार्य गरिएको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नयाँ व्यवस्था गरेको हो ।
दूतावासले एक सर्कुलर जारी गर्दै भिसा सम्बन्धि सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौँस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ ।
ई–भिसा आवेदन प्रक्रियामा आएका त्रुटीहरूको मूल्यांकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया जाँदा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।
नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन एराइभलका लागि पहल भई राखेको जनाउँदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी गराए ।