चिया, अदुवा र अलैँची निर्यात बढ्याे, ३ महिनामा ४ अर्बको बाहिरियो

झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।

झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा रु १ अर्ब २० करोड ८० लाख मूल्य बराबरको १ हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको थियो ।

पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती हुँदै आएको छ । औषधि र मसालाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ । आव २०८०/८१ को त्रैमासिक अवधिमा रु २२ करोड ९५ लाख ४ हजार मूल्य बराबरको १ हजार ७९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर निकासी भएको छ ।

निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ ।

अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ । तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ । चालू आवको त्रैमासिक अवधिमा रु २९ करोड ४० हजार मूल्य बराबरको २ हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिए । अन्य बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती हुन्छ । फूललाई छिप्पिएपछि थुतेर कुचोका रुपमा प्रयोग हुने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।

पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाका रुपमा प्रयोग हुने तेजपात पनि भारत निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा रु ७४ करोड १८ लाख १९ हजार मूल्य बराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ । सोही अवधिमा रु १७ लाख ९२ हजार मूल्य बराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी भएको छ ।

नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दालसमेत रहेको छ । सोही अवधिमा रु आठ करोड चार लाख १९ हजार मूल्य बराबरको ५८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा खर्बौं डलरको नोक्सानी, जीडीपी ६.३ प्रतिशत घटायो Read Previous

जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा खर्बौं डलरको नोक्सानी, जीडीपी ६.३ प्रतिशत घटायो

देशभरका कारागारमा योग शिविर संचालन गरिने Read Next

देशभरका कारागारमा योग शिविर संचालन गरिने