काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू घरकर्जा विस्तारमा आक्रमक हुन थालेका छन् । घरजग्गा कारोबारमा आएको मन्दीका कारण विगतमा कर्जा लगानी गर्न नसकेका बैंकहरूले पछिल्लो समय कारोबारमा सुधार र नीतिगत सहजतापछि कर्जा लगानी गर्न आक्रमक बन्न थालेका हुने ।
साथै, घर निर्माणको सिजन सुरु हुँदा कर्जाको माग समेत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यक्तिगत आवासीय कर्जा ७.७ प्रतिशतले बढाएका हुन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ३ खर्ब ४८ अर्ब रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा लगानी गरेकोमा चालु आवको असोज मसान्त आइपुग्दा २६ अर्ब ७७ करोड रुपैयाँले बढेर ३ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । जबकि गत वर्षभरीमा जम्मा १२ अर्ब रुपैयाँ आवासीय कर्जा लगानी भएको थियो ।
पछिल्लो समय सरकार र नेपाल राष्ट्र बैंकले नीतिगत लचकता अपनाउँदा कर्जा लगानीमा केही सुधार आएको हो । त्यस्तै, मन्दीका कारण सुस्त भएको घर निर्माण गर्ने क्रम पछिल्लो समय केही बढेकाले ऋणको माग पनि बढेको हो ।
राष्ट्र बैंकले चालु वर्षको सुरुआतदेखि आवास तथा घर कर्जाको ऋण लगानीमा लगाएको नीतिगत अंकुश हटाउँदै लगेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्याएको थियो । त्यसपछि पनि कर्जा लगानी बढाउन घरजग्गा, सेयर लगायतका क्षेत्रमा प्रवाह हुने कर्जा खुकुलो बनाउँदै लगेको देखिन्छ ।
गत आसोजमा राष्ट्र बैंकले घरजग्गा धितो कर्जाको सीमा पनि बढाएका् थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा लोन टु भ्यालु रेसियो ५० प्रतिशत पुर्याएको छ । यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।
अहिले राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो त्रैमास समीक्षाको तयारीमा छ । उक्त समीक्षापछि घरजग्गा लगायत अन्य क्षेत्रमा कर्जा प्रवाहको नीतिलाई अझै खुकुलो बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, घरजग्गा कारोबारलाई चलायनमान बनाउन सरकारले यथास्थितिमै कित्ताकाट खुला गरेको छ । अर्थमन्त्री र प्रधामन्त्रीले समेत घरजग्गा कारोबार व्यवसायमा देखिएको मन्दी टार्न भूउपयोग नियमावली संशोधन गरेर साउनमा कित्ताकाट खुलाएका थिए । कर्जा प्रवाहमा अझै खुकुलो नीति लिनुपर्ने बताइरहेका छन् ।
अहिले वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंकमै पैसा थुप्रिँदा बैंकहरूले लगानी बढाउने बाटो खोजिरहेका छन् । प्रणालीमा पर्याप्त तरलता हुँदा बैंकको ब्याजदर पनि घट्दै गएको छ । घट्दो बैंकको ब्याजदर र बैंकहरूको घरकर्जा योजना अन्र्तगतको सहुलियत ऋणका कारण कर्जाको माग वृद्धि हुँदै गएको छ ।
यस बीचमा राष्ट्र बैंकले निर्माण सामग्रीको खपत बढाएर अर्थतन्त्र चलायमान बनाउन चालु वर्षको मौद्रिक नीति मार्फत आवासीय कर्जा लगानीमा खुकुलो नीति बनाएको थियो । यही नीतिका कारण पनि बैंक तथा वित्तीय संस्थाहरू ऋण लगानीको लागि आवासीय कर्जालाई प्राथमिकतामा राखिरहेका छन् ।
बैंकहरूले पनि आफ्नो व्यवसाय बढाउन आवासीय कर्जा योजना ल्याएका छन् । संस्थाहरूले कर्जाको अवधि अनुसार ब्याजदर तय गरेर विभिन्न आवासीय कर्जा योजना सहित ऋण दिइरहेका हुन् । पहिलो त्रैमासमा बैंकको आधादर एकल अंकमा झरेको छ । निक्षेपको ब्याजदर बैंकहरूले घटाउँदै लगेका छन् । यसले पनि आगामी दिनमा बैंकको लागत घटेर कर्जाको ब्याजदर सस्तो हुँदै जाने देखिन्छ ।
अहिले बैंकहरूसँग ५ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम तरलता रहेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरूको सीडी रेसीयो ८१ प्रतिशतको हाराहारीमा छ । कर्जा लगानीका लागि पर्याप्त रकम हुँदा पनि बैंक तथा वित्तीय संस्थाहरूले माग नहुँदा ऋण लगानी बढाउन सकेका छैनन् । अवासीय क्षेत्रमा भइरहेको कर्जा विस्तारले निर्माण सामग्री लगायत अन्य वस्तुहरूको पनि कारोबार बढ्दै जाँदा अर्थतन्त्र चलायमान हुने बैंकरहरू बताउँछन् ।
असोज मसान्तसम्म घरकर्जा प्रवाह उच्च देखिँदा रियलस्टेट कर्जा लगानी भने घटेको छ । राष्ट्र बैंकका अनुसार यसअवधिमा रियलस्टेट कर्जा ३.४ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरूले रियलस्टेटमा २ खर्ब ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । रियल स्टेट र आवासीय घरकर्जा गरेर असोज मसान्तसम्म संस्थाहरूको ऋण लगानी ६ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।