बबरमहलमा अब यात्रुले बटन थिचेर बाटो काट्न सक्ने

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँको लागतमा काठमाडौं महानगरपालिकाले उक्त ट्राफिक लाइट प्रविधि जडान गरेको हो ।

पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजदेखि सञ्चालनमा ल्याइएको काठमाडौँ महानगरपालिका ट्राफिक विज्ञ जगत्मान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ ।

एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनःबटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको श्रेष्ठले बताए । उनका अनुसार रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्ने छन् ।

काठमाडौँ महानगरपालिकाले बबरमहलमा रहेको जेब्राक्रसको छेउको खम्बामा बटन राखेर ‘पोलिकन क्रसिङ लाइट’ जडान गरेको छ । यस्तो लाइट यसअघि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पस अगाडि पनि जडान गरिएकामा मर्मतसम्भार नगरिँदा दिगो हुन नसकेको महानगर कार्यालयले जनाएको छ ।

बबरमहल क्षेत्रमा बाटो काट्ने पैदलयात्रुको सङ्ख्या अत्यधिक हुने र दुर्घटनाको जोखिम देखिएकाले सुरुमा यो क्षेत्र रोजिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।

‘यो कामपाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ । प्रयोग गर्न जान्दा यसले सूचना देखाउँछ । यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ,’ उनले भने।

नबिल एसएसई कार्यक्रमबाट ८६९ जनाले पाए रोजगारी Read Previous

नबिल एसएसई कार्यक्रमबाट ८६९ जनाले पाए रोजगारी

ग्लोबल आइएमई बैंकको ३५१औं शाखा बैतडीको पाटनमा Read Next

ग्लोबल आइएमई बैंकको ३५१औं शाखा बैतडीको पाटनमा